| बुधबार, कार्तिक २५, २०८३

सानासहरी खानेपानी उपभोक्ता समितिमा ३५ लाख रुपैयाँ बक्यौता, ११ लाख ४४ हजार बेरुजु

गोरखा बजारमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफना उपभोक्ताबाट ३५ लाख रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ । गोरखा सदरमुकामका सोमबार पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न ग्राहकले पानीको उपभोग गरेबापत्त हालसम्म ३५ लाख रुपैयाँ महशुल उठाउन बाँकी रहेको संस्थाका अध्यक्ष सिता खड्काले बताइन् ।

यो तथ्यांक अघिल्लो कार्यसमितिको पालादेखि गत फागुनसम्मको वक्यौता रकम हो । बिगतमा भन्दा आफ्नो कार्यकालमा व्यवस्थित ढंगले संस्था सञ्चालन गरेकाले बक्यौता रकम कडाइका साथ असुल गर्ने उनले बताइन् । पत्रकार सम्मेलनमा आर्थिक तथा प्रगति प्रतिवेदन सुनाउँदै संस्थाका अध्यक्ष खड्काले हाल संस्थामा १९ लाख ६० हजार रुपैयाँ मौज्दात रहेको बताइन् ।

उनले पानी शुद्धिकरणका गर्न डोजिङ्गको व्यवस्था गरिएको, पानी परीक्षण गर्ने ल्याव संचालन गर्ने तयारीमा रहेको र पानीको ट्यांकी नम्बर १, २ र ३ मा २÷२ वटा पानी तान्ने मोटर पम्प जडान गरी निरन्तर पानी ल्याउने व्यवस्था गरिएको बताइन् । यस्तै, संस्थामा आर्थिक वर्ष २०७८÷०७९ को असार मसान्तसम्ममा ११ लाख ४४ हजार बेरुजु रहेको जनाएको छ । लेखा परीक्षण पछि देखिएको बेरुजु फर्छौट गर्न पटक पटक सम्बन्धित पक्षहरुलाई पत्राचार गरिएको समेत उनले बताइन् ।

हाल पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाको १३ सय ३५ घरधुरीमा पानी वितरण गरिदै आएको छ । संस्थाका अनुसार हाल प्रतिसेकेण्ड २८ लिटर माग रहेतापनि र अहिले पानी प्रतिसेकेण्ड ९ लिटर वितरण भइरहेको जनाएको छ । करिब आधा माग परिपूर्ति गरेको समितिले जनाएको छ । यदि सानासहरी खानेपानीले आफ्ना उपभोक्तालाई पानी वितरण गर्न नसकिएको खण्डमा मात्र दरौंदी लिफ्टिङ आयोजनासँग पानी माग गर्ने जनाएको छ ।

कार्यक्रममा अध्यक्ष खड्काले आर्थिक बर्ष २०७९÷०८० को फागुनसम्मको एक करोड दुईलाख ५२ हजार नौसय ६९ रुपैयाँ आयव्यायको विवरण सुनाएकी थिइन् । साना सहकारी खानेपानीले नगरविकास कोषमा २०७८ असार मसान्तसम्ममा चारकरोड ४५ लाख रुपैंया तिर्न बाँकी रहेको छ ।

गोरखा बजारमा दरौदी लिफ्टिङ आयोजनासँग पानी मागेर वितरण गर्न कुनै समस्या नभएको तर उनीहरुले मागेको समयमा पानी उपलब्ध नगराउँदा समस्या भएको समितिका उपाध्यक्ष सुरेशमान श्रेष्ठले बताए । दरौदी लिफ्टिङ आयोजनाले पानी वितरण गर्दा उपभोक्तालाई युनिट अनुसार पानीको शुल्क तोक्नुपर्ने तर हालसम्म पनि पानीको महशुल तोक्न नसकेको जनाएको छ ।

दरौँदी लिफ्टिङले पानी दिन सकेन : साना सहरी

साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले आफूहरुलाई पूर्व सहमति अनुसार खानेपानी उपलब्ध गराउन नसकेको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सानासहरी आयोजनाका सुशील अर्यालले माग गरेका बेला दरौँदी आयोजनाले पानी उपलब्ध गराउन नसकेको बताए ।

‘केही महिनाअघि हाम्रो आयोजनामा प्राविधिक समस्या आयो । त्यतिबेला हामीले दरौँदी लिफ्टिङसँग पानी माग गरेका थियौँ’, अर्यालले भने, ‘तर दिन सकेन । पछि कारण बुझ्दा त्यो आयोजनासित पानी नै रहेनछ । प्राविधिक रुपमा पनि तयारी भइसकेको रहेनछ ।’ माताहतका २२ वटा समितिलाई पानी उपलब्ध गराउने महशुलको दररेटका बारेमा पनि सो आयोजना स्पष्ट नरहेको उनले बताए ।

दरौँदी आयोजनाले आप्mनो समितिसित ३४ लाख रुपैयाँ मागेर विवाद सिर्जना गरेको अर्का मोहनलाल श्रेष्ठले बताए । दुईपक्षीय संवादका लागि मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुको साँटो साना सहरीलाई दरौँदी लिफ्टिङमा बिलय गराउने दुश्प्रयास गरिरहेको श्रेष्ठको दाबी छ । सानासहरी आयोजनाको पुरानो उपभोक्ता समितिले संस्थापक अध्यक्षको सालिक निर्माण गर्ने निर्णय गरी डेढलाख रुपैयाँ निकासा गरिसकेको भन्दै उनले उपभोक्ताबाट उठाएको रकम दुरुपयोग गर्न यो समितिले नदिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्