
भूमिहीनलाई लालपूर्जा : बारपाक सुलिकोटले २९ परिवारको नाम जिल्ला पठायो
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन तथा अव्यवस्थित बसोबास भएकाहरुलाई लालपूर्जा दिने अन्तिम तयारी गरेको छ । पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन लगायतका सबै प्रक्रिया पूरा भईसकेकाले छिट्टै लालपुर्जा वितरण हुने भूमि आयोग गोरखाका सदस्य विपिन्नचन्द्र ढकालले बताए ।
‘बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिकाको वैठक बसेर सबै कागजात प्रक्रिया पूरा गरेर फाइल कार्यालयमा आइपुगेको छ । अव कार्यालयबाट दावी विरोधका लागि सात दिने सूचना निकाल्छौ’, उनले भने, ‘त्यसपछि नापी कार्यालयबाट एक टोली फिल्डमा जानुहुन्छ । अनि एक महिनाभित्र लालपुर्जा वितरण हुन्छ ।’
आयोगका सदस्य ढकालका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास रहेको संख्या हेर्दा बारपाकसुलिकोट वडा नं २ मा तीनजना, वडा न. ३ मा तीनजना, वडा नं ४ मा एकजना र वडा नं ५ मा सातजना रहेका छन् । वडा नं ६ मा तीनजना, वडा नं ७ मा दुईजना र वडा नं ८ मा दशजना रहेका छन । पालिकाभरि कुल तथ्यांक हेर्दा भूमिहिन दलितको संख्या १० जना, भूमिहिन सुकुम्बासीको संख्या ११ जना र अव्यवस्थित बसोबासको संख्या ८ गरी कुल २९ जना रहेका छन् ।
अन्य पालिकाको तुलनामा बारपाकसुलिकोटमा संख्या थोरै रहेको र प्रक्रिया धेरै अगाडि बढिसकेकोले अवको एक महिनाभित्र लालपूर्जा वितरण हुने उनले बताए । प्राविधिकहरूले फिल्डमै पुगेर लगत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण हुनेछ ।
त्यस्तै, जिल्लाका शहिदलखन र गोरखा नगरपालिकामा पनि करिब अन्तिम चरणमा आइपुगेको समितिले जनाएको छ । गोरखाका चुमनुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा हाल लाभग्राहीको विवरण कम्युटरमा इट्री गर्ने काम भइरहेको जनाएको छ । चुमनुब्री गाउँपालिका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) भित्र पर्ने भएकाले त्यहाँको तत्काल निवेदन लिएपनि पूर्जा वितरणका लागि भने आयोगसँग थप सहकार्य हुने उनले बताए । चुमनुब्रीको हालसम्म केहि पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।
अन्य पालिकाहरुमा भने छिट्टै नै लालपूर्जा वितरण गर्ने गरी काम निरन्तर अघि बढिरहेको ढकालले जानकारी दिए ।
त्यस्तै, धार्चे गाउँपालिकाको वडा नं १ हुल्चकमा रहेको दलित बस्तीमा करिब १२ देखि १८ घरधुरी सुकुम्बासी रहेको पाएको तर यकिन तथ्यांक भने आउन बाँकी रहेको समितिले जनाएको छ ।
अब बस्ने कार्यापालिकाको वैठकमा हुल्चुकमा रहेको सुकुम्बासीको यकिन तथ्याङ्क पेश गर्ने वडा अध्यक्षबाट जानकारी आएको आयोगका सदस्य ढकालले बताए । धार्चेमा अव्यवस्थित बसोबास गर्ने संख्या दुईसय ६० रहेको समितिले जनाएको छ ।




