| बुधबार, कार्तिक २५, २०८३

असल छिमेकी नेपालद्वारा विपत प्रतिकार्य सामग्री हस्तान्तरण

असल छिमेकी नेपालले गोरखा नगरपालिकामा गठन भएको विपत प्रतिकार्य समितिलाई विपत प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहका बीच सो संस्थाले गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामार्फत विपत प्रतिकार्य समितिलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

विपत प्रतिकार्य सामग्री अन्तरगत लाइफ ज्याकेट, आगो निभाउने यन्त्र, प्राथमिक उपचार वक्स, आगोलागी हुँदा लाउने ज्याकेट, बेल्चा, गैँची, गल लगायतका ७० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम अधिकृत सुरेन्द्र्र दासले बताए ।

संस्थाले केहि समय अगाडि गोरखा नगरपालिकाभित्रका विभिन्न वडामा विपत सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु संचालन गरेको थियो । जसमा खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण, कोभिड व्यवस्थापन, परामर्श, विपत सम्बन्धी सचेतामुलक, जलवायु परिवर्तन सम्बन्धी तालिम संचालन गरेको दासले बताए । सोहि तालिमबाट छनौट भएर आएकाहरुलाई संगठित गरी विपत प्रतिकार्य समिति बनाइएको उनले बताए ।

उक्त समितिमा नगरपालिकाभित्रका सात वटा वडाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सोहि समितिलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । समितिका अध्यक्ष गोरखा नगरपालिका वडा नं ११ का वडा सदस्य जिरसिंह तामाङ अध्यक्ष रहेका छन् । समितिका सबै सदस्यलाई यसअघि नै विपत जोखिम न्यूनीकरण सम्बन्धी आधारभुत तालिम दिइसकेको संस्थाका कार्यक्रम अधिकृत दासले जानकारी दिए । समितिमा २० जना सदस्य रहेका छन् ।

कुनै पनि क्षेत्रमा विपत आइपरेमा तत्काल सरकारी निकायको सहायतामा विपत रोकथाम गर्न उक्त सामग्री प्रयोग गरिने उनले बताए । तालिमका क्रममा नगरपालिकाभित्र बाढी, पहिरो, आगलागी, ग्यास बिष्फोट र सडक दुर्घटनाका घटनाहरु बढी हुने गरेको बताएका थिए ।

पोखरेली ख्रिष्टियन समुदायका अध्यक्ष हरिराम घिमिरेको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, नेपाल रेडक्रस सोसाइटी गोरखाका अध्यक्ष यदु विलास भट्टराई, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारी लगायत विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्