
शहीदलखनमा सार्वजनिक सुनुवाई : अनुगमनमा जोडदिनुपर्ने सुझाब
गोरखाको शहीदलखन गाउँपालिकाका स्थानीयले पालिकाले संचालन गरेका योजना र कार्यक्रमको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । सोमवार शहीदलखन गाउँपालिका ८ बुङ्कोटमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागीले गाउँपालिका, वडाबाट बितरण भएको अनुदान लिनेहरुले पेशा ब्यवशाय नै छाडेको, सच्चा किसानले भन्दा टाठाबाठाले अनुदान पाएको गुनासो गरेका थिए ।
‘अनुदान पाएकाले आयआर्जन हुने गरी काम गरेनन्’ स्थानीय पूर्णजंग भण्डारीले भने ‘बिकास निर्माणको काममापनि समयमै अनुगमन गरेर सुझाब दिनुभयो भने सुधार गर्न सजिलो हुन्छ, काम सकिएपछि दिएको सुझाबले सुधार खासै नहुने रहेछ ।’
शहीदलखन ६ दार्चेका नारायणप्रसाद पंगेनीले विद्यालयहरुको सही अनुगमन हुन नसकेको बताए । ‘कुनै कार्यक्रम भयो आउनुहोला तर अन्य समयमा विद्यालय अनुगमन गर्न पालिकाबाट कोही आउनुहुन्न’, उनले भने ।
कृषिको अनुदान शिक्षकहरुले धेरै पाएको, बिकास निर्माणको काम भएको ठाउँमा प्राविधिक र जनप्रतिनिधि साथमै नहुँदा गुणस्तरीय काम नभएको गुनासो सर्वसाधारणको मत सर्वेक्षणका क्रममापनि आएको थियो ।
स्थानीयको गुनासोपछि गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले पाँच लाखसम्मको योजना वडा स्तरबाट र सोभन्दामाथिको पालिकाको अनुगमन समितिले हेर्ने गरेको बताईन् । साथै उनले अनुदानको सही प्रयोग नगरेका लाभग्राहीलाई सचेत गराउने गरेको उनले बताए ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले गाउँपालिकाले दिँदै आएको अनुदानको सही सदुपयोग नभएको गुनासो आएको बताउँदै आगामि वर्षदेखि अहिलेजस्तो तरिकाले अनुदान बितरण नहुने बताए । ‘अब पालिकाले उत्पादनमा आधारित अनुदान दिन्छ, अनुदान लिने र सही प्रयोग नगर्ने, कर्मचारीलाई देखाउन मात्रै गरेजस्तो गर्ने प्रवृत्ति बढेको छ ।’ अनुदान लिनेहरुपनि सचेत हुनुपर्ने उनले बताए ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले पालिकाभित्र बसाँईसराई बढेको, विद्यालयमा विद्यार्थी संख्या घटेको विषयमा गुनासो गरेका थिए । साथै उनीहरुले सडक निर्माण छिटो गरिदिनुपर्ने, विद्यालय भबन निर्माण लगायत संरचना तयार हुनुपर्ने जस्ता विषयमा जोड दिएका थिए ।
शहीदलखन गाउँपालिकाले दोस्रो चौमासिकसम्म ४० प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । ३९ करोड ९१ लाख बजेट रहेको शहीदलखन गाउँपालिकाले चालुतर्फ २१ करोड १८ लाख र पुँजिगततर्फ छ करोड ४७ लाख खर्च गरेको उनले बताए । ‘अहिले धमाधम काम र भुक्तानी पनि भईरहेकाले खर्च प्रतिशत बढेको छ’ उनले भने । गाउँपालिकाबाट संचालन भएका अधिकांश योजना सम्पन्नको चरणमा रहेको उनले बताए ।
सहभागीको प्रश्नको वडा अध्यक्षहरु शरण श्रेष्ठ, बासु ढकाल, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, उपाध्यक्ष इन्दिरा तिवारी, अध्यक्ष रमेश थापा मगर लगायतले जवाफ दिएका थिए । सहमत मिडिया प्रालिका संचालक प्रकाश ढकालले उक्त कार्यक्रमको सहजिकरण गरेका थिए ।




