| बुधबार, कार्तिक २५, २०८३

मनास्लुसहितका हिमाल आरोहण गर्न १४२ जनाले लिए अनुमति

मनास्लु हिमाल सहित देशभरका हिमाल आरोहणका लागि एक सय ४२ जनाले अनुमति लिएका छन् । वसन्त ऋतुका लागि मंगलबारसम्म २० टोलीका १४२ जना सदस्यले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यसमा ३३ जना महिला छन् । पर्यटन विभागका अनुसार यस ऋतुमा मंगलबारसम्म अन्नपूर्ण प्रथमका लागि सबैभन्दा धेरै ५ टोलीका ५४ जनाले अनुमति लिएका छन् । दोस्रो धेरै अनुमति सगरमाथाका लागि जारी भएको छ । मंगलबारसम्म सगरमाथामा ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।

मंगलबारसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ । जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५÷५ जनाले अनुमति लिएको विभागले जनाएको छ । नुप्त्सेका लागि ३, सुर्र्मा सरोबारका लागि २ जनाले अनुमति लिएका छन् ।

सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका ८ जना छन् । चीनका ५, अष्टूेलियाका २÷२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १÷१ जनाले अनुमति लिएका छन् ।
सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन् । दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८÷८ जनाले अनुमति लिएको विभागले जनाएको छ । मंगलबारसम्म हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्न कठिन हुने गर्दछ । मनास्लु अरु हिमाल जस्तो ‘क्राउड’ छैन । साहसिक आरोहण गर्न चाहनेको रोजाईमा मनास्लु पर्ने गर्छ । त्यसैले केही बर्ष यता तुलनात्मक रुपमा मनास्लु आरोहण गर्न आउनेको संख्या बढेकै छ । बहराइन र कतारका राजकुमार, राजकुमारीहरुले आरोहण गरेका कारण पनि मनास्लुको राम्रो प्रचार भएको उनको भनाइ छ । ‘केही बर्षयता मनास्लुको राम्रो प्रचारप्रसार भइरहेको छ’, उनले भने, ‘अझै यसको प्रवद्र्धन हुँदै जानेछ ।’

मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौं अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रुपमा पनि चिनिन्छ । मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घण्टाको पैदल दुरीमा रहेको छ । बेसक्याम्प गाउँ नजिकै रहनुले पनि आरोहीको रोजाइमा पर्ने गर्छ ।

आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्