| बुधबार, कार्तिक २५, २०८३

गोरखा प्रहरीमा तीन महिनामा ७० वटा मुद्दा दर्ता

तीन महिनाको अवधीमा जिल्ला प्रहरी कार्यालय गोरखामा ७० थान मुद्दा दर्ता भएको छ । यीमध्ये २९ थान फस्र्योट र ४१ थान बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सबैभन्दा धेरै आत्महत्या सम्बन्धी १८ वटा अभद्र ब्यवहार सम्बन्धी १० वटा रहेको छ । दोहोरो नागरिकता सम्बन्धी नौ वटा र शान्ति बिरुद्धको कसुरमा ८ वटा मुद्दा रहेको छ । जवरजस्ती करणी, कर्तब्य ज्यान लगायत अन्य शीर्षकमा बाँकी मुद्दा रहेका छन् ।

गोरखा प्रहरीले फैसला कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको एसपी अनुपम श्रेष्ठले बताए । बिगत तीन महिनामा २९ पुरुष र ४ जना महिलालाई पक्राउ गरी चारवर्ष नौ महिना २७ दिन कैद र एकलाख दुई हजार सात सय ५५ रुपैयाँ जरिवाना असुलउपर गरिएको उनले बताए ।

तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय गोरखाले बिभिन्न ५२ वटा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको एसपी अनुपम श्रेष्ठले बताए । लागु औषध नियन्त्रण, घरेलु हिंसा सम्बन्धी कार्यक्रम धेरै संचालन गरिएको छ ।

तीन महिनामा महिला हिंसा बिरुद्धको ४८ वटा निवेदन परेको र ३० वटा मेलमिलाप भइसकेको प्रहरीले जनाएको छ । यो अवधिमा प्रहरी कार्यालयमा दुई सय ४८ वटा ठाडो निवेदन परेको छ । तीमध्य दुई सय ३३ वटा फस्र्योट भएको र १५ वटा बाँकी रहेको छ । सबैभन्दा धेरै उजुरी गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिकामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्