| बुधबार, कार्तिक २५, २०८३

गोरखाको जनसंख्याको १० वर्षे विश्लेषण : गोनपा र धार्चेको बढ्यो, अन्यमा घट्यो

जनगणना २०६८ को तुलनामा २०७८ मा गोरखाको जनसंख्या २० हजार ३४ ले घटेको छ । १० वर्षको जनगणनाको तुलना गर्दा गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या बढेको हो भने अन्य आठ पालिकामा घटेको हो ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार गोरखा नगरपालिकामा २०६८ मा ४९ हजार २७२ जना रहेकोमा २०७८ मा ५२ हजार ४ सय ६८ जना पुगेको छ । धार्चे गाउँपालिका पनि २०६८ सालमा १३ हजार २२९ जना रहेकोमा २०७८ मा १४ हजार २६३ जना पुगेको छ । गोरखा नगरपालिका तीन हजार १९६ जना र धार्चेमा एक हजार ३४ जना बढेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यी दुई पालिका बाहेक अन्य पालिकाहरुमा दश वर्षपछि भएको जनगणनामा जनसंख्या घटेको छ ।
दश वर्षको अवधिमा सिरानचोकमा २३ हजार ६२८ बाट १९ हजार ७१९ जना, अजिरकोट गाउँपालिकामा १५ हजार ६०२ बाट १२ हजार ८३२ जना र बारपाक सुलिकोट गाउँपालिकामा २५ हजार ३८९ जनाबाट २२ हजार ६३६ जनामा घटेको छ ।

यस्तै, चमुनुब्री गाउँपालिकामा ६ हजार ९२३ जनाबाट ५ हजार ९३२ जनामा, आरुघाट गाउँपालिकामा २३ हजार ८८४ जनाबाट २१ हजार ५७२ जनामा, भिमसेन थापा गाउँपालिकामा २२ हजार ३३ जनाबाट १६ हजार ९८६ जनामा, सहिदलखन गाउँपालिकामा २७ हजार ५५५ जनाबाट २३ हजार ७६ जनामा र गण्डकी गाउँपालिकामा २३ हजार २५३ बाट २१ हजार ३९४ जनामा झरेको देखिन्छ ।

दश वर्ष पछि भएको जनगणतामा भिमसेनथापामा ५ हजार ४७ जनामा, सहिदलखनमा ४ हजार ४ सय ७९ जनामा, सिरानचोकमा ३ हजार ९ सय ९ जना र अजिरकोटमा २ हजार ७ सय ७० जना जनसंख्या घटेको देखाएको छ । पानपामा ७ सय ६५ जना, बारपाकसुलिकोटमा २ हजार ७ सय ५३ जना, चुमनुब्रीमा ९ सय ९१ जना, आरुघाटमा २ हजार ३ सय १२ जना, र गण्डकीमा १ हजार ८ सय ५९ जना घटेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्