| बुधबार, कार्तिक २५, २०८३

मनको इच्छा पुरा गर्ने खोप्लाङको राम मन्दिर

पालुङटार नगरपालिका वडा नं १ खोप्लाङस्थित काजीगाउँमा वि.स. २०११ सालमा राम मन्दिर स्थापना गरियो ।
तत्कालीन समयमा स्थानीय सोमध्वज पाण्डे र उनका भाइहरु सोमराज पाण्डे, पदमध्वज पाण्डेले तीन वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् ।

तीन दाजुभाइले आफनै नीजि खर्चमा वि.स. २००९, १० र ११ सालमा गरी तीन वर्ष लगाएर मन्दिर निर्माण गरेका थिए । सो समयमा भक्तपुरबाट डकर्मी ल्याएर ढुङ्गैढुङ्गाको कलात्मक मन्दिर निर्माण गरिएको हो । यो राम मन्दिर यस क्षेत्रका लागि आस्थाको धरोहर बनेर रहेको स्थानीयहरु बताउँछन् ।

जस्ताको छाना र इटाको गह्रो लगाएको मन्दिर जीर्ण भएपछि वैष्णव परिषद नेपालको सहयोगमा पुरानो मन्दिर भत्काएर नयाँ मन्दिर बनाएको उनले बताए । त्यस्तै, पदमध्वज पाण्डेका छोरा कालुराज पाण्डेले दिएको जग्गामा अहिले धर्मशाला पनि बनाएको छ । धर्मशाला निर्माण भएसँगै मन्दिर व्यवस्थापन समितिले यस मन्दिरमा आउने सन्त, महन्तहरुलाई खाने बस्नेको समेत व्यवस्था गरेको छ ।

त्यस्तै, वि.स. २०६५÷०५६ सालबाट भने वैष्णव परिषद नेपालले पनि मन्दिरको पुजापाठ गर्नका लागि एकजना वटुकको व्यवस्था गरेर सहयोग गर्दै आएका छन् । परिषद तथा स्थानीय देवराज आचार्यले उक्त सहयोग गरेका हुन् । परिषदले नै मन्दिरको रेखदेख गर्ने र विहान बेलुका पुजापाठ गर्नका लागि एकजना वैष्णव बटुक राखेको छ ।

मन्दिरको संरक्षण र पुजापाठ गर्न गुठी जग्गाबाट अपुग रकम वैष्णव परिषद नेपालले सहयोग गर्दै आएको छ ।
तीन दाजुभाइले आफनो नीजि जमिनलाई गुठीमा राखी उक्त जग्गाबाट आउने आम्दानीबाट मन्दिर पूजा लगायका कामहरु संचालन गर्दै आएका छन् ।

राममन्दिरसँगै ढुङ्गैढुङ्गाले बनेको शिव र पार्वतीको मन्दिर पनि बनाएको छ । यहाँ हरेक वर्ष तीजको दिनमा ब्रतालु महिलाहरु आएर त्यहाँ भजनकृतन र नाचगान गर्ने गर्छन ।

पहाडी क्षेत्रमा ढुङ्गैढुङ्गाले बनाएको राम मन्दिरलाई नमूना मन्दिरका रुपमा लिन सकिने स्थानीय अर्जुनराज पाण्डेले बताए । उनका अनुसार सो समयमा बनारसबाट रामचन्द्र, सीता, लक्ष्मण लगायतका ५ वटा सिगरमर्मरका मूर्तिहरु राममन्दिरमा राखिएको थियो । मन्दिरको बाहिर हनुमानको मूर्ति पनि राखिएको छ ।

विशेष गरेर यो मन्दिरमा एकादशी, सक्रान्ति लगायतका समयमा मानिसहरु पुजा गर्न आउछन् । स्थानीय अर्जुनराज पाण्डेका अनुसार यहाँ वर्षमा एकचोटि चैत्र शुक्ल नवमी तथा राम नवमीमा भगवान रामलाई वैदिक विधिबाट पूजा गर्ने र रातभरि भजनकीर्तन गर्ने गरिन्छ ।

त्यस्तै, भगवान रामलाई आस्था गर्नेहरुलाई भक्तिभावले पूजा गर्न आउँछन् । साथै यहाँ एकादशी, सक्रान्ति, कृष्ण अष्टमी, तीज, ठूलो एकादशीमा विशेष रुपमा भक्तजनको उपस्थिति बाक्लो हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्