| बुधबार, कार्तिक २५, २०८३

आँबुखैरेनीको कुडुले घाटमा अवैध उत्खनन

आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दुरीमा रहेको कुँडुले घाटमा अवैध उत्खनन भएको छ । १७ हजार चार सय ९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी जिम्मा लिएको अभियान कन्ट्रक्शनले मस्र्याङ्दी नदीभित्रै एक्साभेटर प्रयोग गरेर उत्खनन गरिरहेका छन् ।

गत पुस आठ गते गाउँपालिकासँग सम्झौता गरी एक्साभेटर लगाएर नदीभित्रबाटै गिटी, बालुवा उत्खनन गरेका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद शर्माले बताए । नियम बिपरित उत्खनन् भएको भन्दै स्थानीयले बिरोध गरेपछि माघ १० गतेबाट गाउँपालिकाले काम रोक्न भनेको थियो ।

तर सो कम्पनीले चितवनको एक कम्पनीलाई गिटी, बालुवा उपलब्ध गराउने कागज बनाएर मेसिन लगाएर उत्खनन गर्ने अनुमति मागेका उनले बताए । माघ १६ र १७ गते गाउँपालिकाले अभियान कन्ट्रक्शनलाई एक्साभेटर प्रयोग गरेर सामग्री संकलन गर्ने अनुमति दियो ।

‘त्यसयता हामीले एक्साभेटर प्रयोग नगर्न भनेका छौँ’, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद शर्माले भने । तर सो कम्पनीले लगातार एक्साभेटर लगाएर नदीभित्रैबाट उत्खनन् गरिरहेको छ । यसबारे पालिका बेखबर छ ।

मस्र्याङदी नदीको ड्याम्पका कारण उत्खनन भएको तटिय क्षेत्रमा पानीको बहाव कम छ । पानी बग्ने बीच भागबाट निर्माण कम्पनीले सम्झौता बिपरित उत्खनन गरिरहेको छ । ४३ लाख रुपैयाँमा ठेक्का लागेको कुँडुले घाटमा अहिलेसम्म कति उत्खनन् भयो र अब कति बाँकी छ भन्ने तथ्याङ्क पनि पालिकासँग छैन ।

प्रभावकारी अनुगमन गर्न सकिएको छैन ; समिति
जिल्ला अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले नदीजन्य पदार्थ उत्खनन्को प्रभावकारी अनुगमन गर्न नसकिएको बताएका छन् । मस्र्याङ्दी नदीमा पानीको बहाव नै परिर्वतन हुने गरी भइरहेको उत्खननबारे उनले अनुगमन गरिने बताए ।

‘अनुगमन समितिमा छलफल गरेर कानुनी प्रक्रियामा अघि बढ्छौँ’, उनले भने, ‘समय अभाव, लगायत बिभिन्न कारणले हामीले प्रभावकारी अनुगमन गर्न सकेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्