| बुधबार, कार्तिक २५, २०८३

मध्यपहाडीको पालुङटार खण्ड : रुख काट्ने काम सकियो, अब धमाधम सडक चौडा बनाइने

मध्यपहाडी लोकमार्गको पालुङटार खण्डमा सडकको क्षेत्राधिकारभित्र पर्ने रुख काट्ने काम सकिएको छ । अब सडक चौडा वनाउने काम केहीदिनमा सुरु हुने पुष्पलाल मध्यपहाडी आयोजना कार्यालय पालुङ्टारले जनाएको छ ।
मसानेठाँटी–पालुङटारसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गर्दा सडकको ‘राईट अफ वे’ भित्रका आठसय ३६ वटा रुख काटिएको छ ।

सात हजार क्यूफिट भन्दाबढि काठ र दाउरा निस्कने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेश पौडेलले बताए । ‘अहिले घाटगद्धीमा अन्तिम गणना चलिरहेको छ’, उनले भने, ‘यो काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयको रोहबरमा उपभोक्ता समितिलाई हस्तान्तरण हुनेछ ।’ काटिएका रुख र काठको बिवरण यकिन भएपछि सडक निर्माणको काम अघि बढ्ने उनले बताए ।

रुख काट्न ढिला हुँदा १० वर्षअघिदेखि सडक कालोपत्रे रोकिएको थियो ।
रुख काट्दा निस्किएको दाउरा र काठ घाटगद्धी गरिएको छ । पाँचवटा समुहले छुट्टाछुट्टै घाटगद्धी गरेका छन् । समितिको निर्णय अनुसार उपभोक्तालाई बितरण गर्न वा समितिले बिक्री गर्न सक्छन् । सामुदायिक वनको काठ दाउरा संकलन तथा बिक्री बितरण निर्देशिका २०७१ अनुसार कटान, घाटगद्धी र बितरण प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय गोरखाका सुचना अधिकारी पौडेलले बताए ।

पालुङटार नगरपालिका वडा नम्बर १ को खोप्लाङ सामुदायिक वन, अन्नपूर्ण सामुदायिक वन, देवीस्थान सामुदायिक वन, अन्नपूर्ण देविस्थान सामुदायिक वन, वडा नम्बर २ को मालेबगर सामुदायिक वन र ४ को आमडाँडा सामुदायिक वनका रुख काटिएका छन् ।

खोप्लाङका स्थानीय अर्जुन पाण्डेले अब रुख काटेपछि बाटो वन्छ कि भन्ने आश लागेको बताए । मसानेठाँटीदेखि पालुङटार सडक खण्डमा १९ प्रतिशत काम मात्रै भएको छ । उक्त खण्डमा घना जंगल र रुखहरु धेरै पर्ने भएकाले कामको गति ढिला भएको आयोजना कार्यालयका इन्जिनियर बिदुर सुवेदीले बताए । अहिले रुख काट्ने काम सकिएकाले एक साता भित्र निर्माण सुरु हुने उनले बताए । ‘रुख ढालेर सकियो, कटान, मुछानको केही काम बाँकी छ’, उनले भने, ‘अब सडक निर्माणको काम छिटो अघि बढ्छ ।’

मध्यपहाडीको गोरखामा पर्ने एउटा पनि खण्डमा पूरा काम भएको छैन । यहाँ मध्यपहाडीको करिब ६३ किलोमिटर सडक पर्छ ।

प्रतिक्रिया दिनुहोस्