
उपभोक्ता अधिकारको विशेष ख्याल राख्नपर्नेमा सरोकारवालाको जोड
उपभोक्ताको अधिकारका बारेमा बस्तु तथा सेवाका बिक्रेताहरुले विशेष ख्याल गर्नुपर्ने गोरखाका सरोकारवालाहरुले बताएका छन् ।
विश्व उपभोक्ता दिबसको अवसरमा बुधवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा बक्ताहरुले बस्तु तथा सेवाको उपभोग गर्नेहरुको अधिकार हनन् हुन नहुने र त्यस्ता बिषयमा निरन्तर आवाज उठाउनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वय विश्व उपभोक्ता दिवस गोरखामा पनि मनाइयो । ‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तिकरण’ भन्ने नारासहित प्रतिक्षालयदेखि बसपार्कसम्म प्रभातफेरी गरिएको थियो । बसपार्कमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले दर्ता गरेको व्यवसायीसँग मात्र सामान खरिद गर्ने बानी बसालौँ, उत्पादन मिति, उपभोग मिति नभएको वा केरमेट गरेको वा पुनः लेबलिङ गरेको बस्तु खरिद नगरौँ, कारोबार स्थलमा साइनबोर्ड मुल्यसूची भए नभएको हेराँै, प्याकिङमा अधिकतम खुद्रा मुल्य भए नभएको हेरौँ, लेखिएको प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बस्तु तथा सेवाको बिक्रेता पनि उपभोक्ता भएकाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्न सकेमा उपभोक्ता अधिकार सुरक्षित हुने बताए ।
मानव अधिकार संजाल गोरखाका संयोजक यदुप्रसाद अधिकारीले उपभोक्ता सम्बन्धी राज्यले लागु गरेका नियम कानुन सबैले व्यवहारमा लागु गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले वस्तु तथा सेवा खरिद विक्री गर्दा उपभोक्ता पनि सचेत हुनुपर्ने बताए । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले नियमसंगत रुपमा राज्यको नियमभित्र रहेर ब्यापार ब्यवशाय गर्नुपर्ने र त्यसको कडाईकासाथ नियमन हुनुपर्ने बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा वडा नं ७ का विष्णुप्रसाद श्रेष्ठले उपभोक्ताको अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिए ।




