
थपेको म्याद सकिन एक महिना बाँकीे, काम अझै अधकल्चो
गोरखाबजार, आरुघाट, आर्खेत सडक निर्माण भएर गाडी चल्न थालेको २० बर्ष नाघ्यो । त्यसयता सडक चौडा भयो, आधाआधीजसो कालोपत्रे भयो, बाँकी सडक पनि पटक–पटक ग्राभेल भयो तर आर्खेत खोलामा पुल नबन्दा बर्खाका बेला गाडीहरु वारिको वारि, पारिको पारि हुने समस्या २० बर्षदेखि अहिलेसम्म ज्युँका त्युँ छ ।
बर्खाका चार महिना गोरखाबाट आएका गाडी आर्खेत पारि नै रोकिन्छन् । वारिपट्टि आर्खेतदेखि सोती, माछाखोला, दोभानसम्मसम्म छुट्टै सवारी चल्छ । ‘चारबर्षअघि यहाँ पुल बन्ने रे भनेर जग खन्न थाल्यो । अब भने हिउँद बर्खै गाडी चल्ने भयो भनेर हामी सबे खुशी भयौँ’, आर्खेतका टंकबहादुर खड्काले भने, ‘तर आज बनाउलान् नि छैन, भोलि बनाउलान् नि छैन ।
योभन्दा पछि सुरु भएको सोती र मान्बु जोड्ने पुल, माछाखोलाको पुल बनिसक्यो । योचाहिँ जस्ताको तस्तै । बरु कामै नथालेको भए एउटा खालको ढुक्क त भइन्थ्यो । रातदिन यो अधकल्चो पुल हेरेर बसेका छौँ ।’ आउँदो बर्खा पनि पारिको बस पारि नै, वारिको बस वारि नै हुने उनले चिन्ता व्यक्त गरे ।
पूर्वाधार विकास कार्यालय गोरखाले २०७८ भदौभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २०७६ सालमा बानियाँ, सिद्धिविनायक जेभी कन्स्ट्रक्शन कम्पनीलाई कामको जिम्मा दिएको थियो । पाँच करोड ६५ लाख ४३ हजार रुपैयाँमा कार्यालयसंग सम्झौता गरेको ठेकेदार कम्पनीले म्याद नाघेको १८ महिना बितिसक्दा काम भने अझै १५ प्रतिशत बाँकी छ । म्याद सकिएपछि कार्यालयले फेरि आउँदो चैतमसान्तसम्मका लागि म्याद थप गरेको छ । थपिएको म्याद सकिन जम्मा एक महिना बाँकी छँदा हालसम्म करिब ८५ काम मात्र सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
पुलको आधाजसो स्ल्याब गतबर्ष नै ढलान गरिएको थियो । बाँकी आधा ढलान गर्ने काम एकबर्षदेखि अलपत्र छ । ‘यो खोलाले कहिले मोटरसाइकल बगाउँछ, कहिले ट्याक्टर बगाउँछ । बर्षैपिच्छेजस्तो बगाउँछ। यो बर्ष त बसै बगाएर ऊ… तलसम्म पु¥यायो’, अर्का स्थानीय देवकुमार काप्रीले भने, ‘असारबाट असोजसम्म त कुनै पनि गाडी यो खोला तर्न सक्दैन । सामान पनि पारि ओह्रालेर फेरि मान्छेले बोकेर वारि तार्नुपर्छ । यसो गर्दा धेरै महंगो पर्न जान्छ ।’
सो पुल नबन्नाले आर्खेत, सोती, माछाखोला, तातोपानी, जगतसम्म सवारीसाधन अबरुद्ध हुने उनले बताए । ‘आरुघाट गाउँपालिकाको आधाआधी भूभाग, धार्चे र चुमनुब्री गाउँपालिका जाने मुख्यद्वार नै यही पुल हो । यो पुल नबन्दा धेरैलाई असर छ’, उनले भने ।
ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने, पेटी ठेकेदार पनि पटक पटक भागेका आरुघाट गाउँपालिकाका पूर्व अध्यक्ष पूर्ण दाहालले जानकारी दिए । ‘तीनवटा गाउँपालिकाका मान्छेले प्रयोग गर्ने पुल अलपत्र बनाएको छ’, उनले भने, ‘मैले पनि बारम्बार ताकेता गरिरहन्थे । यसपटक पनि भ्याउँदैन कि भन्ने डर छ ।’
४० मिटर लामो पुलको पिलर उठाइसकिएको छ । २० मिटर स्ल्याब गतबर्ष नै ढलान गरेपनि बाँकी काम अझै अलपत्र छ । फागुपुर्णिमापछि काम सुरु गर्ने भने पनि अझै सुरु नभएको कार्यालयले जनाएको छ । ‘चैतसम्मका लागि म्याद थपिएको छ । थपिएको म्यादभित्र काम सक्छन् भन्ने विश्वास छ’, पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत उमेश योञ्जन भन्छन् ।




