
गोरखाको स्ववियु निर्वाचनका लागि पूर्व सहमतिअनुसार मनोनयन दर्ता
गोरखाका तीनवटै क्याम्पसमा कांग्रेस, एमाले, माओवादी र नेसपा संवद्ध विद्यार्थी संगठन बीच चुनावी एकता छ ।
मनोनयन दर्ता गर्ने दिन शनिबार चारै पार्टीका विद्यार्थी संगठनहरुको तर्फबाट साझा उम्मेद्वारी दर्ता भएको हो । आंगिक क्याम्पस गोरखा क्याम्पस र सामुदायिक क्याम्पसहरु द्रव्यशाह बहुमुखी क्याम्पस र भवानी क्याम्पसमा पूर्व सहमति अनुसार सबै पदमा एकल उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियू सभापति पदमा एकजना स्वतन्त्र उम्मेद्वारको मनोनयन दर्ता भएको पनि कार्यालयले जनाएको छ ।
तालमेल गरेर चुनावमा जाने पूर्व सहमति अनुसार गोरखा क्याम्पस गोरखामा सबै पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवदत्त दवाडीले बताए । एकल उम्मेदवारीसँगै गोरखा क्याम्पसमा सर्वसम्मत स्ववियू गठन हुने निश्चित भएको छ ।
सभापतिमा बिष्णु पाण्डे, सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोराले उम्मेदवारी दिएका छन् । समानुपातिकतर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङको उम्मेदवारी दर्ता भएको छ ।
‘जति पद हो त्यती नै उम्मेदवारी परेको छ’ निर्वाचन अधिकृत दवाडीले भने ‘दावी बिरोधको समय आईतवार २ बजे सम्म, अन्तिम नामावली प्रकाशन फागुन २९ गते, अन्तिम घोषणा चैत ५ गते गरिनेछ ।’
द्रब्यशाह बहुमुखी क्याम्पसमा सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ भने अन्य सबैपदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण पराजुलीले बताए ।
सभापतिमा सौनक घिमिरे र प्रमोदजंग कुँवरले उम्मेदवारी दिएका छन् । घिमिरे चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु, नेपाल समाजवादी विद्यार्थी युनियनको साझा उम्मेदवार हुन् भने कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
विद्यार्थी संगठन र सम्बद्ध दलहरु बीच द्रब्यशाहमा नेपाल विद्यार्थी संघलाई सभापति पद दिने सहमति भएको थियो । नेविसंघले सौनक घिमिरेलाई सभापति बनाउने निर्णय गरेको थियो । द्रब्यशाह बहुमुखी क्याम्पसको नेविसंघ ईकाई उपसभापति रहेका प्रमोदजंग कुँवरले पदबाट राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । फागुन २९ गतेसम्म उम्मेदवारी कायम रहे सभापति पदमा द्रब्यशाह बहुमुखी क्याम्पसमा निर्वाचन हुनेछ भने अन्य पदमा सर्वसम्मत हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सचिवमा सचिन खनाल, कोषाध्यक्षमा अबिन श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा प्रत्यक्षतर्फ नेविसंघको तर्फबाट राजेश श्रेष्ठले र अन्य संगठनका तर्फबाट बिपना कोईराला, अनुप सिम्खडा, प्रताप थापा मगर, नबिना गुरुङले उम्मेदवारी दिएका छन् ।
द्रब्यशाहमा सभापति, कोषाध्यक्ष सहित तीन सदस्य नेविसंघले लिने, उपसभापति, सचिव र तीन सदस्य अखिल क्रान्तिकारी, अनेरास्ववियूले सहसचिवसहित एक सदस्य लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले तीन सदस्य लिने सहमति भएको थियो । चार विद्यार्थी संघ, संगठनले दुबै क्याम्पसमा सहमति अनुसार उम्मेदवारी दर्ता भएको बताएका छन् ।
सदस्यहरुमा सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले चैत ५ गते मात्रै घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै पूर्व सहमतिअनुसारै भवानी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल समाजवादी विद्यार्थी युनियनका गुणराज गिरीको एकल उम्मेदवारी परेको छ । उपसभापति र सचिवमा नेविसंघ र कोषाध्यक्ष, सहसचिवमा अखिल क्रान्तिकारीबाट मात्र उम्मेदवारी परेको छ ।
नेविसंघका तर्फबाट उपसभापतिमा विवश पौडेल, सचिवमा आकाश रानामगर र अखिल क्रान्तिकारीको तर्फबाट कोषाध्यक्षमा रोजिना मिया, सहसचिवमा नरेश बोटेले उम्मेदवारी दिएका छन् ।
सदस्यहरुमा अखिल क्रान्तिकारीबाट रुवी तामाङ, नेविसंघबाट इन्दिरा गिरी, अनेरास्ववियुबाट भवानी रानाले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमै समानुपातिक तर्फबाट नेविसंघबाट लक्ष्मी खड्का रानाभाट, नेसवियुबाट सुनिता गिरी, अनेरास्ववियुबाट रोजिना देवकोटाले उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले चैत ५ गते मात्रै घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




