
आरुघाट गाउँपालिकाका चार उत्कृष्ट कृषक सम्मानित
आरुघाट गाउँपालिका भित्रका चारजना उत्कृष्ट कृषकहरु सम्मानित भएका छन् । आरुघाट गाउँपालिकाको छैठौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रथम गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत चार जना कृषकलाई सम्मान गरिएको गाउँपालिकाका पशुशाखा प्रमुख इन्द्रहरी खनालले बताए ।
चार वटा विधामा उत्कृष्ट भएका कृषक छनौट गरी सम्मान गरिएको हो । जसअन्तरर्गत तरकारीबाली तर्फबाट आरुघाट १ का कृष्णबहादुर गुरुङ, फलफुलबारी तर्फबाट आरुघाट ८ का एकनारायण न्यौपाने, पशुपालन तर्फबाट आरुघाट ८ का सुकबहादुर नेपाली र माछापालन तर्फबाट आरुघाट १० का इन्द्रबहादुर खड्कालाई सम्मान गरिएको उनले जानकारी दिए ।
उनीहरुलाई उपप्रधान तथा भौतिक विकास पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठद्वारा प्रति कृषक १० हजारका दरले नगद सहित प्रमाणपत्रले सम्मान गरिएको उनले बताए ।
पालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षता तथा उपप्रधानमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




