
स्ववियु निर्वाचनमा मिलेर जाने गोरखाका चार विद्यार्थी संगठनको सहमती
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले सहमती गरेका छन् । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संघ संगठन बिच सहमती भएको हो ।
शुक्रवार गोरखा सदरमुकाममा भएको नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी सहित राजनीतिक पार्टीका जिल्ला नेतृत्वको उपस्थितीमा भएको छलफलबाट उक्त निश्कर्षमा विद्यार्थी संगठन पुगेका हुन् ।
सहमती अनुसार गोरखा क्याम्पस गोरखामा अखिल क्रान्तिकारीले सभापति, कोषाध्यक्ष र तीन जना सदस्य लिनेछ भने नेपाल विद्यार्थी संघले सचिव, सह सचिव र तीन जना सदस्य लिनेछ । अनेरास्ववियुले उप सभापति र तीन सदस्य लिनेछ भने समाजवादी विद्यार्थी युनियनले २ सदस्य लिने सहमती भएको छ ।
यस्तै द्रब्यशाह बहमुखी क्याम्पसमा नेविसंघले सभापति, कोषाध्यक्ष सहित तीन सदस्य लिनेछ । अखिल क्रान्तिकारीले उप सभापति, सचिव सहित तीन सदस्य लिनेछ भने अनेरास्ववियुले सह सचिव र एक सदस्य लिने सहमती भएको छ । नेपाल समाजवादी विद्यार्थी युनियनले तीन सदस्य लिनेछ ।
शुक्रवार गोरखा सदरमुकाममा भएको बैठकले प्रत्यक्ष र समानुपातीक उम्मेदवार चयन गर्दा संयुक्त रुपमा बैठक बसी चयन गर्ने निर्णय भएको छ ।
बैठकमा नेविसंघ उपाध्यक्ष शिवहरी तिमल्सिना, अखिल क्रान्तिकारीका अध्यक्ष बिष्णु पाण्डे, अनेरास्ववियुका अध्यक्ष प्रताप ढकाल, नेपाल समाजवादी विद्यार्थी युनियनका जिल्ला इन्चार्ज सुजन गर्तौलाको उपस्थिती थियो ।
यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, नेपाल समाजवादी पार्टीका प्रदेश सदस्य ज्योती कोईराला लगायतका बिभिन्न पार्टीका जिल्ला नेता, विद्यार्थी संगठनका प्रमुख एवं पदाधिकारीको उपस्थिती रहेको थियो ।




