| बुधबार, कार्तिक २५, २०८३

घाउ बोकेर जीवन बित्यो

धार्चे १ हुलचुकका रामचेत गुरुङको रात गोठमा, दिन पखेरामा बित्छ । बुढ्यौली बयमा रातको साथी पनि बाख्रा, दिउँसोको सखी पनि बाख्रा ।

श्रीमती बितेको १५ बर्षभन्दा धेरै भइसकेको छ । खानासम्म घरबाट ल्याइदिन्छन्, अरु समय बाख्रासंगै बोलेर, भुलेर, खेलेर बित्छ ।

अहिले कति बर्ष भएँ भन्ने उनलाई हेक्का पनि छैन, बर्ष जान्नु पर्ने खाँचो पनि भएन । बाँदर बर्ग हो, सातफेर घुमेको छ भन्नेसम्म थाहा छ । सरकारले दिएको महिनाको तीनहजार रुपैयाँ भत्ताले लाजगाल उनी पालिएका छन् ।

सदरमुकाम वा तल्लो भेग जाने जरुरी नपर्दा नेपाली भाषीसंग सम्पर्क कम भयो । नेपाली भाषाको अभ्यास नभएकाले उनलाई आफ्नो भाषा नबोल्नेहरुसंग कुराकानी गर्न बाधा पर्छ । सानैदेखि गोठको बास । छ बर्षको हुँदा बुबाको देखासिकी गर्दै खुकुरी लिएर रुख चढे । ‘दाउरा झार्न भनेर गएको, रुखबाट लडेँ’, उनी भन्छन्, ‘रगत छादेँ । ओखती गर्न तल गएन । झारबुटीले भयो ।’

कानको पछाडि लागेको टुटुल्को त्यतिबेला उपचार गर्नुपर्ला जस्तो देखिएन । तर जति समय बित्दै गयो, त्यति बढ्दै गयो । उनीसित बिहे गर्ने सुक्चेतकी किशोरीले पनि त्यसतिर ध्यान दिइनन् । कानको पछाडि ठूलो डल्लो लिएरै जवानी बित्यो ।
टुटुल्कोले अरु त खासै समस्या पार्दैन्, अलिअलि गह्रुङ्गो अनुभूति हुन्छ । कानबाट गन्हाउने हिलो निस्कन्छ ।

उमेरसंगै दिनानुदिन टुटुल्को बढ्दै गयो । टोपी लगाउनै नमिल्ने गरी बढ्यो । बख्खु ओढ्दा छोपिन्थ्यो, नत्र टाउको जत्रै टुटुल्को प्रस्ट देखिन्थ्यो । ‘गाउँमा त कसैले वास्ता गर्दैनन् । गाउँछोडेर अन्त जाने वित्तिकै मान्छेले यहीँ हेर्छन्, लाज लाग्छ’, उनी भन्छन् । त्यसकै कारण उनी सदरमुकाम वा अरु बजार क्षेत्रतिर जान सकेनन् ।

उनको घरमा एक छोरा, दुई नातिहरु छन् । उनीभने बाख्राको खोरमा सुत्ने, बस्ने गर्छन् । ८४ बर्षको उमेरमा पनि उनी दिउसो बाख्रा चराउँछन् । रातको समयमा बाख्राकै गोठमा सुत्छन् । ‘गोठमा नसुते त बाघले बाख्रा खाइदिन्छ’, उनी भन्छन्, ‘सानैदेखि बाख्राको खोरमा सुत्ने बानी प¥यो । असजिलो लाग्दैन ।’

उपचार गर्यो भने टुटुल्को निको हुन्छ भनेर रामचेतलाई कसैले पनि सिकाएनन्, न आफैले जाने । त्यसैले अहिले पनि टाउको जत्रै ठूलो, टाउको जस्तै साह्रो टुटुल्को बोकेर नियमित दिनचर्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्