| बुधबार, कार्तिक २५, २०८३

सिजनको सुरुमै उत्तरी गोरखामा हुलका हुल पर्यटक

वसन्त यामको पर्यटक सिजन सुरु हुनेवित्तिकै हुलका हुल पर्यटक आउन थालेपछि उत्तरी गोरखाका बासिन्दा खुशी भएका छन् ।

मनास्लु क्षेत्र र चुम उपत्यका पदमार्ग अहिले पर्यटकले भरिभराउ हुन थालेका छन् । ‘तीन, चार दिन जति भयो, होटल भरिभराउ हुन थालेको छ’, जगतका होटल व्यवसायी गणेश कार्की भन्छन्, ‘यो बर्ष त सिजनको सुरुमै होटल भरिन थालेको छ । यो खुशीको कुरा हो ।’ कोभिड र डेंगुका कारण बिगतका तीन, चार बर्ष व्यवसाय नभएर चिन्तित भएका व्यवसायीहरु अहिले उत्साहित भएका उनले बताए ।

पर्यटकको तथ्यांक अद्यावधिक गर्ने सरकारी संस्था मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार एकसाता यता ९३ जना विदेशी पर्यटकले यहाँ भित्रिएका छन् । ‘विदेशी महिला पर्यटक ३४ जना र पुरुष पर्यटक ५९ जनाले हाम्रो चेकप्वाइण्टमा इन्ट्री गरेका छन् । यो संख्या गत बर्षहरुको भन्दा धेरै हो’, एमक्याप सिर्दिबास कार्यालय प्रमुख अजीत तुम्बाहाम्फेले भने, ‘कुनै अप्रिय घटना नभए यसबर्ष मनास्लु क्षेत्रमा अत्याधिक पर्यटक आउने सम्भावना छ ।’ मनास्लु क्षेत्रमा पर्यटक आउने दर बर्षेनी बढिरहेको उनको भनाइ छ ।

यसबर्ष चुम उपत्यकामा अहिंसा सताव्दी महोत्सव मनाइँदैछ । यहाँ आन्तरिक र वाह्य पर्यटकको संख्या धेरै बढ्ने चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामा बताउँछन् ।

यहाँ रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि चार जनाले अनुमति लिइसकेका छन् । वसन्त ऋतुमा नेपालका आठहजार मिटरभन्दा अग्ला हिमाल अग्ला हिमाल आरोहण गर्नका लागि हालसम्म १५ जनाले अनुमति लिइसकेकामध्य चारजनाले मनास्लु आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लु क्षेत्रमा मनास्लु आरोहण, ५,११० मिटर अग्लो लार्केपास गर्न, मनास्लु बेसक्याम्प तथा वीरेन्द्र ताल अवलोकनका लागि पर्यटक आउने गरेका छन् । त्यस्तै चुम उपत्यकास्थित चर्चित अहिंसा क्षेत्र, सयौँ बर्ष प्राचीन म्हु गुम्बा, राजेन गुम्बा तथा अन्य गुम्बा अवलोकनका लागि पर्यटक आउने गरेका छन् । मोटरबाटो नपुगेकाले यस क्षेत्रलाई अझै भर्जिन ट्रेलका रुपमा लिने गर्छन् । विदेशी पर्यटकहरुले मनास्लु ट्रेकिङका लागि दुईदेखि तीनहप्ता समय बिताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्