
भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सवको सबै तयारी पूरा
गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल भीमवीरेश्वर महादेव मन्दिर परिसरमा आयोजना गर्न लागिएको भीमवीरेश्वर महादेव आद्यात्मिक महोत्सव तथा सप्ताह ज्ञानमहायज्ञको सबै तयारी पूरा भएको छ ।
गोरखा र धादिङको सीमानामा अवस्थित बुंकोटघाटको त्रिवेणी क्षेत्रमा मंगलबारदेखि सुरु गरिने सप्ताह ज्ञान महायज्ञको यही फागुन २३ गते बिहान ११ बजे गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जग्गा सम्याउने, मञ्च बनाउने काम सकिएको छ । मञ्चमा विद्युत जोड्ने, साउण्ड सिस्टम जोड्ने, निमन्त्रणा गर्ने लगायतका काम सम्पन्न भइसकेको मूल समारोह समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
सप्ताह ज्ञान महायज्ञमा वाचन प्रवीण दीनवन्धु पोखरेलले श्रीमद्भागवत महापुराण वाचन गर्ने निश्चित भएको छ । साथै अरु नौ जना व्राह्मणले दैनिक वैदिक विधिअनुसारका काम गर्ने कार्यक्रम तय भएको छ ।
सातदिनसम्म हरेक दिन भजन समूहद्वारा भजन गाउने, नाच्ने छन् भने दुई दिन टेलिभिजनको इन्द्रेणी कार्यक्रमका टिमले मनोरञ्जन गराउनेछन् ।
त्यस्तै बबिता बानियाँ, अस्मिता डल्लाकोटी, रविन लामिछाने, बल्छी धुर्वे, राजु मास्टरहरु पनि सहभागी भएर कार्यक्रममा मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजक संस्था नाम्जुङ सेवा समाजका अध्यक्ष शिव बञ्जराले जानकारी दिए ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बिक्रम संवत १८८८ मा निर्माण गरेको भीमवीरेश्वर महादेव मन्दिरलाई सुरक्षित र उचित स्थानमा स्थानान्तरण गरी पुनस्थापित गर्ने उद्देश्यले महापुराण लगाउन लागिएको बञ्जराले जानकारी दिए ।
साथै धादिङ र गोरखाको सीमानामा रहेको बूढीगण्डकी उपत्यकालाई प्रचार प्रसार गर्ने, यहाँको अबस्था र समस्या बारे सबैको ध्यानाकर्षण गर्ने, आजको नयाँ पुस्तामा आद्यात्मिक भावना पैदा गर्ने लक्ष्यले महापुराण गर्न लागिएको उनले बताए ।
लक्ष्य पूरा गर्न महापुराणबाट करिब तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य आयोजकको छ । नाम्जुङ सेवा समाज र भीमवीरेश्वर महादेव मन्दिर गुठी समितिको समन्वयमा गठित १००१ सदस्यीय मूल आयोजक समितिले सो महायज्ञ आयोजना गरेको हो ।




