
गोरखामा सभ्य र भव्य होली
गोरखामा सभ्य र भव्य रुपमा होली मनाइएको छ । हिन्दू नेपालीहरुको चाड होलीका अवसरमा हिन्दू धर्मावलम्बी तथा हिन्दूइतर समुदायले पनि रङ दलेर तथा वनभोज कार्यक्रम गरी होली मनाएका हुन् ।
सोमबार दिनभर पारिवारिक, समूहगत तथा संस्थागत रुपमा पनि विभिन्न कार्यक्रम गरी होली मनाइएको छ । पत्रकार महासंघ गोरखा र पत्रकार महासंघ चितवनमा आवद्ध पत्रकारहरु गोनपा ११ स्थित पन्द्रकिलोमा भेलाभई सद्भावपूर्ण रुपमा होली मनाएका छन् ।
यातायात व्यवसायी तथा यातायात मजदुरहरुले पनि होलीका अवसरमा विशेष कार्यक्रम गरी होली मनाएका छन् । त्यस्तै विशेषगरी सदरमुकाम, आरुघाट, पालुङ्टार, भच्चेक तथा अन्य बजार क्षेत्रमा होली धुमधाम मनाइएको छ भने ग्रामीण क्षेत्रमा पनि रङ दलेर रमाइलो गरी होली मनाइएको छ ।
होली मनाउने क्रममा जिल्लाभित्र कहीँकतै अप्रिय घटना भएको जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकामको रानीपोखरीमा सामान्य झगडा भएकाले दुईतीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए । त्यसबाहेक कतै पनि अप्रिय घटना भएको बारे जानकारी नआएको उनले बताए ।
होलीलाई स्वस्थ रुपमा मनाउन यसअघि जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत आग्रह गरेको थियो ।




