
सामागाउँमा हिमचितुवाले तीसभन्दा धेरै याक, चौरी मारिए
उत्तरी गोरखाको सामागाउँमा हिमचितुवाको आक्रमणबाट याकचौरीहरु मारिएका छन् । विगत एक महिनायता हिमचितुवाको आक्रमणबाट ३० भन्दा धेरै याकचौरीहरु मारिएका स्थानीय छिरिङ नुर्बु लामाले बताए ।
हिउँ परेका बेला बासस्थानबाट निस्किएका हिमचितुवाले याकचौरी मारेको उनले बताए । ‘अहिले हिउँ परिराखेको छ । हिउँ परेका बेला हिमचितुवा पनि बाहिर निस्किने रहेछन्, अनि याकचौरी पनि भाग्न नसक्ने रहेछन्’, उनले भने, ‘यही मौका छोपेर आक्रमण गर्दो रहेछ । अहिले एक महिनायता ३० भन्दा धेरै याकचौरी मारिसक्यो ।’
हिमचितुवाले आक्रमण गरेको मान्छेले देखेको उनले बताए । ‘अहिले हाम्रो जंगलमा याकचौँरी मार्न सक्ने हिमचितुवा र ब्वाँसो मात्र छ । पछाडिबाट आक्रमण गरेर मार्ने ब्वाँसोले हो, अगाडिबाट आक्रमण गर्ने हिमचितुवाले हो’, उनले भने, ‘हिमचितुवाले आक्रमण गरेको देख्ने साक्षी दोर्जे लामा छन् ।’ १५ भन्दा धेरै साना चौरीका बच्चालाई बच्चा घाइते बनाएको उनले बताए ।
उनका अनुसार अहिले हिउ परिराखेको र घाँस नभएकाले ठूला याक, चोरीहरु लेकतिर छोडिदिने गरेका छन् भने सानालाई गाउँमै गोठमा बाँधेर राख्ने गर्छन् । आफनो दुईवटा याकचौरी, आफनो दाइको तीनवटा मारेको छिरिङले बताए ।
हिउँ पर्दा खेतीपाती हुने, धुलो नउँड्ने, जंगलमा डँडेलो नलाग्ने भन्दै गाउँले खुशी भए पनि हितुवाले जंगलमा याक र चौरी मारिदिदा स्थानीय चिन्तित बनेको उनले बताए । विगतमा वर्षहरुमा महिनामा एकदुई वटा मात्र याक, चौरी हिमचितुवाले मार्ने गरेको तर यो वर्ष एकै महिना धेरै याक चौरी मारेको उनले बताए ।
मनास्लु संरक्षण क्षेत्र आयोजना सिर्दिबासका प्रमुख अजित तुम्बाहानफेले भने अहिले कार्यालयमा हिमचितुवा वा ब्वाँसाबाट याक, चौरी मारेको भन्ने खबर प्राप्त नभएको बताए । सामागाउँमा मंसीरमा ५ वटा याक चितुवाले मारेको तर अहिले केही खबर नआएको उनले बताए । स्थानीय ब्यासोले समस्या दिएको बारेमा आफुलाई मौखिक जानकारी आएको भन्दै उनले यदि याक चौरी मारिएको भए हिमचितुवा नभई ब्वाँसोले मारेको हुन सक्ने उनले बताए । तिब्बत सीमानामा सडक खनेकाले त्यसतर्फको सबै ब्वाँसो सबै नेपालतर्फ प्रवेश गरेको र यसले स्थानीयलाई समस्यामा पार्ने गरेको बताए ।




