| बुधबार, कार्तिक २५, २०८३

अकला मन्दिरमा बोका बली दिने कोठामा पूजा गर्न बाध्य

प्रसिद्ध अकला मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने क्रम बर्षेनी बढिरहेको छ । तर मन्दिर पुनर्निर्माकोको काम दुईबर्षदेखि अलपत्र हुँदा भक्तजनहरु बोका बली दिने कोठामा पूजा गर्न बाध्य छन् ।

गोरखा नगरपालिका १४ स्थित मूल मन्दिर पुनर्निर्माणको काम बिगत दुईबर्षदेखि अघि बढ्न सकेको छैन ।
३० लाख लागतमा पुनर्निर्माण गर्न २०७४ सालमा सिलान्यास गरिएको थियो ।

‘प्रदेश सरकारको १० लाख र गोरखा नगरपालिकाको २० लाखमा पुनर्निर्माण गर्ने भनेर तत्कालीन मेयर राजनराज पन्तले सिलान्यास गर्नुभएको थियो’, निर्माण समितिका अध्यक्ष टोपबहादुर महत भन्छन्, ‘तर सयौँ बर्षअघि स्थापना गरिएको मूर्तिलाई नयाँ मन्दिरमा सार्न मिल्दैन भनेर पुरातत्व विभागले रोकेपछि त्यहाँ मन्दिर निर्माणको काम रोकियो ।

फेरि २०७६ सालमा सोही मूर्तिलाई भित्र पार्नेगरी मन्दिर निर्माण कार्य आरम्भ भयो । तर प्राविधिकले साँगुरो मन्दिरको डिजाइन गरेछन् । त्यो पनि रोकियो । अहिले फेरि काठ अभावका कारण बिगत दुईबर्षदेखि रोकिएको छ ।’ काठको अभाव टरेपछि काम अघि बढ्ने उनले बताए ।

‘करिब करिब अब काठ अभावको समस्या पनि समाधान भएको छ । अब छिट्टै सुरु हुन्छ’, उनले भने ।
हाल रोकिएको मन्दिरको झ्याल, ढोका राख्ने काम पनि सम्पन्न भएको छ । तर मन्दिर साँगुरो भएको तथा काठ अपुग भएको बहानामा काम रोकियो ।

‘काम अघि बढ्न नसकेको दुई बर्ष भयो’, निर्माण समितिका अध्यक्ष महत भन्छन्, ‘काठ दिन कोही तयार नभएकाले काम रोकिएको हो । अब काठ पनि पाइएको छ । हाल भइरहेको पिँडीलाई अझै फराकिलो बनाउने गरी अब बनाउन थाल्छौँ ।’ तर कहिलेबाट थाल्ने भन्ने निश्चित नभएको उनको भनाइ छ ।

मन्दिर पुनर्निर्माण सम्पन्न नहुञ्जेलका लागि हाल मन्दिर बोकाको बली दिने ठाउँमा स्थानान्तरण गरिएको छ । बोकाको बली कुखुराको बली दिने ठाउँमा सारिएको छ । कुखुराको बली पनि बोकाको संगै दिने गरिएको छ ।

अकला मन्दिरमा ब्रह्मण, जैशी वा क्षेत्री समुदायका पुजारीले पूजा गर्ने गर्छन् । पुजारीको संख्या धेरै भएपछि पालोका विषयमा केही समयअघि विवाद पनि भएको थियो ।

गाह्रो अप्ठ्यारो परेका बेला भाकल गरेर पूजा गर्ने देवीको रुपमा अकला देवीको प्रसिद्धि छ । मस्र्याङ्दी किनारमा अवस्थित अकला मन्दिर दशकौँ अघि हाल रहेको ठाउँमा स्थानान्तरण गरिएको हो ।

यहाँसम्म पुग्न अहिले पृथ्वीराजमार्गको मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट तरेर मन्दिरसम्म गाडीमा जान सकिने सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्