| बुधबार, कार्तिक २५, २०८३

अक्सिजनबिना मनास्लु हिमाल आरोहण गर्ने मिङ्मार लामा

समुन्द्र सतहबाट ८,१६३ मिटर उचाइको विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण निकै जटिल र जोखिमपूर्ण मानिन्छ । उक्त हिमालको सफल आरोहण गर्ने एक सफल आरोही हुन् मिङ्मार छिरिङ लामा । उनी मनास्लु आरोहण गर्ने गोरखा सामागाउँमा पहिलो व्यक्ति पनि हुन् । पहिलो पटकमा नै जोखिमपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने व्यक्ति पनि हुन् ।

त्यो पनि बिनाअक्सिजन आरोहण गर्न सफल भएका हुन् । लामाले २०७८ को शरद ऋतुमा असोज ११ गते बिहान ९ बजे मनास्लुको मुख्य चुचुरोमा पाइला टेक्न सफल भएका थिए । मनास्लुबाट पहिलो हिमाल आरोहण गर्दा नै सफलता पाएका लामा आफूले कुनै तालिम नलिईकन आरोहण गर्दा पनि सफलता हासिल गर्न सकेकोमा गर्व गर्छन् । उनीसँगको छोटो कुराकानी :

तपाईंले बिना तालिम पहिलो पटकमै आठहजार मिटर भन्दा अग्लो मनास्लु हिमाल नै आरोहण गर्नुको कारण के हो ?
सामागाउँका बासिन्दाले अहिलेसम्म मनास्लु चढेका थिएनन् । मनास्लु बेस क्याम्प (आधार शिविर)सम्म चाहिं विदेशीहरु आरोहीहरुको भारी बोकेर पुग्ने गरेका थियौँ । तर अहिलेसम्म भने कसैले आरोहण गरेका छैनन् । हामीले मनास्लुको मुख्य चुचुरो पनि छ भनेर पहिला नै सुनेका थियौं । तर कोही आरोहीले पनि यसअघि मुख्य चुचुरोमा पुगेका भने थिएनन् ।

एकजना माउन्टेन गाइड मिङ्मा जी शेर्पाले मुख्य चुचुरोको बारेमा मलाई पनि सुनाउनुभयो । मलाई पनि जाउँ भन्नुभयो । विदेशी र नेपाली आरोहीहरु गरी टिममा २२ जना आरोहणमा गयौं । मनास्लुको काखमै बसेको म । मलाई पनि आफ्नो गाउँ नजिकैको हिमाल चढ्छु भन्ने मनमा सोच आयो । तर परिवारसँग कुरा गर्दा परिवारले मानेनन् । हिमालमा चढ्यो भने ‘मरिन्छ’, ‘जोखिम हुन्छ’ भनेर रोकेका थिए । तर मैले हिमाल चढ्ने मन बनाइसकेको थिएँ । मिङ्मा जी शेर्पासंग सन् २०२१ मा आरोहण गर्न गएँ । सफल पनि भएँ । साथी माउन्टेन गाइड भएकाले मलाई पनि हिमाल चढ्ने रहर जागेर आयो ।

कस्तो रहयो मनास्लु चढ्दाको अनुभव ?

मृत्यु हुनुअघिको अनुभव भयो । बेस क्याम्पबाट पाँच दिनमा मनास्लुको मुख्य चुचुरोमा पुगेँ । आरोहणको सुरुदेखि नै चुचुरोसम्म बिना अक्सिजन पुगेर फर्किएर आएको हो । मिङ्माले मेरो लागि भनेर अक्सिजन लिएर गए पनि मलाई प्रयोग नै गर्नुपरेन । मनास्लु हिमालको चुचुरोमा करिब आधा घण्टा जति बसेर फर्किएर आउन सफल भयौँ हामी । यसअघि पनि नेपाली र विदेशीले मनास्लु चढिसकेको थियो । तर मुख्य चुचुरोमा बिना अक्सिजन कसैले आरोहण गरेका थिएनन् । म अक्सिजन बिना नै चढ्न सकें ।

सामागाउँमा के पेशा व्यवसाय गर्नुहुन्छ ?

म किसान काम गर्थेँ । होटल पनि छ सानो, मनास्लुको काखमा । भर्खर छ(सात बर्ष भयो होटल चलाउन थालेको । सामागाउँमा कोही पनि मनास्लु चढ्न खोज्दैन्, मरिन्छ भनेर । सामागाउँका युवाहरुमा सीप छ । काम गर्नसक्ने हिम्मत छ । सीप भएपछि विदेशतिर जाने क्रम पनि बढ्दो छ ।

कोही मलेसियातिर, कोही फ्रान्सतिर, कोही अमेरिका, कोही क्यानाडातिर जाने गरेका छन् । गाउँमा सबै बुढाबुढी मात्र छन् । भोलिको दिनमा यस्तै हुने हो भने बाआमाहरुले दुःख पाउने भए । शेर्पाहरु विदेश नगएर हिमाल आरोहण गर्छन् । हिमाल चढेर परिवार पाल्छन् । परिवासँगै बस्छन् ।
तर हाम्रो गाउँका मान्छेहरु हिमाल चढ्न जाँदा मरिन्छ भनेर डराएर बस्छन् ।

तपाईंलाई चाहिं डर लाग्दैन् ?

म यही सोचले पनि मनास्लु आरोहण गर्न गएको हो । मान्छे हिमालमै मर्छ भन्ने छैन् । दिन आयो भने जहाँ पनि मर्नसक्छ । हामी हिमालकै काखमा बसेर हिमाल चढ्ने काम गर्दैनौँ । गाइडको काम गर्दैनौँ । विदेश जानुको सट्टा यही गाउँमै बसेर अवसर खोज्यो भने रोजगारी पाउँछ । युवाहरुले गाइडको काम गर्नसक्छ । आफ्नै टेूकिङ कम्पनी खोल्नसक्छौँ ।

अब तपाईं अरु हिमाल चढ्नुहुन्छ कि अरु नै केही काम गर्नुहुन्छ ?

अरु हिमाल चढ्ने भनेर अहिले नै सोच बनाएको छैन । बरु मैले मनास्लुको सफल आरोहण गरेपछि मेरो गाउँका अरुले पनि हिमाल चढ्न रुचि देखाउन थालेका छन् । मेरो सोचचाहिं गाउँमै रोजगार भएर बस्नुपर्छ भन्ने छ । त्यो भयो भने परिवारसँगै बस्न पाइयो । बुबाआमाले दुःख गरेर आफ्नो बालबालिकालाई १५–१६ वर्षसम्म पाल्यो, हुर्कायो, पढायो । त्यसपछि उनीहरु विदेशतिर गएर बस्छन् । बाबुआमाबाट टाढा गएर बस्छन् ।

परिवारबाट टाढा हुन्छन् । गाउँमै बसेर गाइडको काम गर्यो भने पैसा कमाउँछ । विदेश जानु पनि पर्दैन । पहिला मनास्लुमा धेरै मान्छेको मृत्यु भएको देखेर होकी, धेरैलाई डर भएको । सामागाउँको मान्छेमा एक किसिमको डर बसेको छ । उनीहरु आधार शिविरसम्म पनि जान मान्दैन् ।

यदि तपाईं फेरि हिमाल आरोहण गर्यो भने कुन हिमाल चढ्नुहुन्छ ?

सगरमाथाको आरोहण गर्छु होला ।

प्रतिक्रिया दिनुहोस्