
मनकामना बजारको फोहोर व्यवस्थानका लागि मनकामना दर्शन प्रालीद्वारा टयाक्टर सहयोग
गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ र ३ मा पर्ने मनकामना बजारको फोहोर व्यवस्थापनका लागि मनकामना दर्शन प्रालीले टयाक्टर सहयोग गरेको छ । सोमबार प्रालीका संचालक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरलाई टयाक्टरको चाबी हस्तान्तरण गरेका हुन् ।
मनकामना बजारको फोहोर व्यवस्थापनका लागि यस अघि विभिन्न टयाक्टर, बोलेरोहरु भाडामा प्रयोग गर्दै आएका थिए । निजी सवारी साधन प्रयोग गर्दा धेरै महङ्गो पर्ने गरेको र स्थानीय तहको पैसा धेरै खर्च हुने गरेको गाउँपालिका वडा नं वडा नं ३ दिपक पाण्डेले बताए ।

सोमबार पालिका मार्फत वडामा प्राप्त भएको उक्त टयाक्टर वडा नं २ र ३ मा रहेको मनकामना बजारबाट उठाएको फोहोर ल्याण्डफिल्डसम्म ओर्सानका प्रयोग हुने उनले जानकारी दिए ।
फोहोर व्यवस्थापनका लागि बजारक्षेत्रका घरधुरीबाट उठाएको शुल्क र स्थानीय तहबाट विनियोजित बजेटले उक्त टयाक्टर संचालन हुने उनले बताए । त्यस्तै, अहिले अस्थायी रुपमा ल्याण्डफिल्ड संचालन रहेको र वडाबाट प्रालिमार्फत संघीय सरकारलाई दिगो र स्थायी हुने गरी ल्याण्ड फिल्ड निर्माणका लागि प्रपोजल बुझाउने तयारीमा रहेको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।
मनकामना बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि पालिका र वडाको अनुरोधमा मनकामना दर्शन प्रालीले पालिका मार्फत वडालाई टयाक्टर हस्तान्तरण गरेको वडा नं २ का वडा अध्यक्ष सकुन थापामगरले बताइन् । उक्त टायक्टर वडाको रोहबरमा मनकामना फोहोर व्यवस्थापन समितिले संचालन गर्ने उनले जानकारी दिइन् ।




