
गोरखामा अपाङगता भएकाहरुका लागि क्षमता विकास कार्यक्रम सम्पन्न
गोरखा सदरमुकाममा अपाङगता भएका व्यक्तिहरुको लागि क्षमता विकास तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील अपाङ्गता संघ गोरखाको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सहयोगमा तीन दिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
उक्त तालिममा गोरखाको चुमनुब्री गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहबाट ४० जना सहभागी रहेको संघ गोरखाका अध्यक्ष अमर गुरुङले जानकारी दिए । उनका अनुसार अभिमुखीकरण कार्यक्रमको पहिलो दिन अपाङ्गताको प्रकार, अपाङ्गता सम्बन्धी नियम, कानुनहरुका बारेमा जानकारी गराएका थिए ।
दोस्रो दिन अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङ्गता अधिकार ऐन २०७४, अपाङ्गता अधिकार नियामावली २०७७ र दिगो विकास लक्ष्य र अपाङ्गता समावेशी विकासका बारेमा जानकारी दिइने उनले बताए । त्यस्तै, तेस्रो दिन समावेशी शिक्षाको अवधारणा तथा अपाङ्गता छात्रवृत्तिको विवरण प्रक्रिया, नेतृत्व विकास र संस्थागत विकास लगायतका बारेमा जारी दिइने उनले बताए ।
कार्यक्रम समापनसँगै सहभागी सबै जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रगतिशील अपाङ्गता संघ गोरखाका अध्यक्ष तथा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य अमर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समन्वयका, राष्ट्रिय अपाङ्गता महासंघ संघीय कार्य समितिको वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक रामबाबु कार्की, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियार लगायतकाको सहभागिता रहेको थियो ।




