| बुधबार, कार्तिक २५, २०८३

मध्यपहाडी लोकमार्गको पालुङ्टार खण्ड स्तरोन्नति गर्न धमाधम रुख काटिँदै

मध्यपहाडी लोकमार्गको मसानेठाँटी–पालुङ्टार सडकखण्ड स्तरोन्नति गर्न धमाधम रुख काट्न सुरु गरिएको छ । मसानेठाँटी–पालुङटार खण्डको १६ किलोमिटर सडक स्तरोन्नति गर्न सडकको ‘राईट अफ वे’ भित्रका आठसय ३६ वटा रुख काट्न सुरु गरिएको हो ।

त्यहाँबाट सातहजार क्यूफिट भन्दाबढि काठ र दाउरा निस्कने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेश पौडेलले बताए । उनका अनुसार पालुङ्टार नगरपालिका वडा नम्बर १ को खोप्लाङ सामुदायिक वन, अन्नपूर्ण सामुदायिक वन, देवीस्थान सामुदायिक वन, अन्नपूर्ण देवीस्थान सामुदायिक वन, वडा नम्बर २ को मालेबगर सामुदायिक वन र ४ को आमडाँडा सामुदायिक वनका रुख काटिनेछन् ।

पालुङ्टार १ सातदोबाटेलगायत विभिन्न खण्डमा रुख काट्ने अनुमति नपाउँदा बिगत १० वर्षअघिदेखि सडक स्तरोन्नतिको काम(कालोपत्रे) रोकिएको थियो । ‘अहिले रुख काट्ने काम भइरहेको छ । कुन रुखबाट कति काठ र दाउरा संकलन भइरहेका छन्, त्यसको तथ्यांक राखेर सामुदायिक वनले प्रयोग गर्नेछन्’ उनले भने । मन्त्री परिषदबाट निर्णय हुनुपर्ने भएकाले उक्त खण्डमा रुख काट्न ढिला भएको थियो ।

यसअघि रुख नकाट्दा वन क्षेत्रको सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको खोप्लाङका स्थानीय अर्जुन पाण्डेले बताए । ‘पहिल्यै पिच हुने बाटो वन क्षेत्रको रुख हटाउन नपाइने कारण देखाएर काम नै गरेनन्, अहिले फेरि मध्यपहाडीले बनाउँछ भन्थे रुखले रोक्यो भनेका थिए’ उनले भने ‘अब रुख काटेपछि बाटो वनछ कि भन्ने आश लागेको छ ।’

पालुङटार सडक खण्डमा मसानेठाँटीदेखि अगाडि जम्मा १९ प्रतिशत मात्र स्तरोन्नतिको काम भएको छ । र उक्त खण्डमा घना जंगल र रुखहरु धेरै पर्ने भएकाले कामको गति ढिला भएको आयोजना कार्यालयका इन्जिनियर बिदुर सुवेदीले बताए । अहिले रुख काट्न थालेकाले अब निर्माणको कामले गति लिने उनले बताए । दुईवर्षभित्र काम सम्पन्न नभएपछि यो ठेक्काको म्याद २०८० असारसम्म थपिएको छ ।

आरुघाटदेखि ओख्ले खण्डमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट सुर्य जेभीले अहिलेसम्म ८० प्रतिशत काम मात्रै गरेको छ । २०७२ माघमा ठेक्का सम्झौता भएको ओख्लेदेखि निवेल खण्डको काम आधाआधी मात्रै काम भएको छ । आयोजना कार्यालयले यो दुबै ठेक्कालाई ‘क्रोनिक ठेक्का’को रुपमा लिएको छ । लामो समय सम्म काम नहुँदा मध्यपहाडीको गोरखामा पर्ने एउटा पनि खण्डमा पूरा काम भएको छैन । यहाँ मध्यपहाडीको करिब ६३ किलोमिटर सडक पर्छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख सुनिल रंजितकारले अहिले गोरखाको पाँचवटै खण्डमा सडक निर्माणको काम सुरु भएको बताए । निर्माण ब्यवशायीलाई काम छिटो सक्न तारन्तार पत्राचार गरे पनि अटेरी गर्दै आएका छन् । अहिले पनि मध्येपहाडीको गोरखा खण्डको काम कछुवा गतिमा छ ।

प्रतिक्रिया दिनुहोस्