
वित्तीय समानीकरणको कार्यसम्पादन मुल्याङ्कनमा गोनपा उत्कृष्ट, अजिरकोट दोस्रो
वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मुल्याङ्कनमा गोरखाका ११ पालिकामध्य गोरखा नगरपालिका सर्वोत्कृष्ठ भएको छ । ७२ अंक प्राप्त गरी गोरखा नगरपालिका उत्कृष्ठ बन्न सफल भएको हो ।
अन्य सबै पालिकाको कार्यसम्पादनमा पनि गत वर्षभन्दा सुधार भएको पाइएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तह औसतभन्दा राम्रो देखिएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामि आर्थिक वर्ष २०८०÷०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
उक्त मुल्याङ्कनमा गोरखाका ११ स्थानीय तहमध्ये गोरखा नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको अजिरकोट गाऊँपालिकाले ६९ दशमलव ४७ र तेस्रो स्थानमा रहेको गण्डकी गाऊँपालिकाले ६७ प्रतिशत अंक प्राप्त गरेका आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै वारपाक सुलिकोट गाऊँपालिकाले ६६ दशमलव ६४ प्रतिशत, भिमसेन थापा गाऊँपालिकाले ६२ दशलमव ७९ तथा पालुङटार नगरपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेका छन् । आरुघाट ६४ दशमलव २१ प्रतिशत, सिरानचोक गाऊँपालिकाले ५९ प्रतिशत, शहिद लखन गाऊँपालिकाले ५८, चुमनुब्री गाऊँपालिकाले ५५ दशमलव ७१ र सबैभन्दा कम धार्चे गाऊँपालिकाले ५२ दशमलव ७१ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए ।
समयमै बजेट पेश गरे नगरेको, असार मासन्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामि आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकन गरिएको थियो ।
यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।
जस अनुसार गोरखाका ११ स्थानीय तहमध्ये गोरखा नगरपालिकाले सबैभन्दा धेरै र धार्चे गाऊँपालिकाले सबैभन्दा कम अंक प्राप्त गरेको हो । गोरखाका सबै पालिकाले ५० प्रतिशत भन्दा धेरै अंक पाएका छन् ।
जिल्लाका चुमनुब्री, धार्चे र भिमसेन थापा गाऊँपालिकाले गत वर्षको मुल्याङ्कनमा ५० प्रतिशतभन्दा कम अंक पाएका थिए । गत वर्ष ३ पालिकाले मात्रै ६० प्रतिशत भन्दा धेरै अंक पाएकोमा यो वर्ष जिल्लाका ७ पालिकाले ६० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेका छन् ।




