| बुधबार, कार्तिक २५, २०८३

छेकम्पारमा अहिंसा शताब्दी महोत्सव हुने

उत्तरी गोरखाको छेकम्पारमा अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको अवसरमा अहिंसा शताब्दी महोत्सव हुने भएको छ । चुमनुब्री गाउँपालिका–७ छेकम्पारको राजेन गुम्बामा आगामी वैशाख ६ गतेदेखि ९ गतेसम्म चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सव आयोजना गर्न लागिएको हो । गोरखा सदरमुकाममा बुधबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

२०७७ सालमा नै अहिंसा क्षेत्र घोषणा भएको १०० वर्ष पूरा भइसकेको छ तर कोरोना महामारीका कारण पर्यटकहरु पुग्न कठिनाइ हुने भएकाले अनुकुल समय पर्खिँदा पर्खिदा २०८० को वैशाखमा गर्न लागिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

नेपाल बृद्धको जन्मभूमि भएकाले विश्वसमा शान्तिको सन्देश दिन, अहिंसा क्षेत्रको चिनारी, निरन्तरता, प्रचार प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।

वैशाख ६ गते सुरु हुने शताब्दी श्याग्या महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको छ । पहिलो दिन उद्घाटन, प्रकृति पूजा, शान्ति दीप प्रज्वलन, अहिंसा क्षेत्र निरन्तरताका लागि प्रधानमन्त्रीले हस्ताक्षरमार्फत प्रतिवद्धता जनाउने कार्यक्रम छ । ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुनेछन् ।

८ गते अहिंसा क्षेत्र संरक्षणका लागि युवाहरुको छलफल गोष्ठी आयोजना गरिएको छ । अहिंसा क्षेत्रलाई निरन्तरता दिन पुस्तान्तरण आवश्यक रहेकाले नयाँ पुस्तामा पनि यसबारे छलफल लामाले बताए । महोत्सवमा परम्परागत खेलकुदको प्रतियोगिता घोडेजात्रा कार्यक्रम पनि राखिएको छ ।

‘अहिसाको अभियान, चुमबासीको पहिचान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले सम्पूण चुमवासीहरुको सामाजिक तथा साँस्कृति प्रतिबद्धतालाई अझ बलियो बनाउने कुरामा हामी विस्वस्त छौ’, अध्यक्ष लामाले भने ।

चुम महोत्सव आयोजनाका लागि १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हाल पालिकाले ३० लाख बजेट विनियोजन गरिएको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले आठलाख रुपैया बजेट विनियोजन गरिएको छ । बाँकी रकम संकलनका लागि काम भइरहेको उनले बताए ।

साथै महोत्सव आउने पर्यटकहरुलाई होटल र होमस्टेको राम्रो सुविधा रहेको समेत उनले बताए । भौगोलिक रुपमा टाढा र सडक सञ्जाल नपुगेको र हेलीबाट जानुपर्ने भएकाले महोत्सव करिब एक हजार भन्दा बढीले मात्र अवलोकन गर्ने अनुमान गरिएको छ ।

कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियारले भौगोलिक विकटताका बाबजुद पनि विश्वमा शान्ति र अहिंसाको सन्देश दिन महोत्सव धेरै सहयोग पुग्ने बताइन् । साथै यसले जैविक विविधताको संरक्षणसँगै स्थानीयहरुको भाषा, संस्कृतिको हुने उनले बताइन् ।

अहिंसा क्षेत्रको विशेषता

चीनसँग सीमा जोडिएको गोरखाको साविकका छेकम्पार र चुम्चेत गाविस (हाल चुमनुब्री गाउँपालिका ७ र ६) चुम उपत्यकाका रुपमा संसारभर प्रख्यात छ । यहाँका स्थानीयहरु सय वर्ष देखि नै हिंंसा नगर्ने नीतिलाई निरन्तरता दिइरहेका छन् ।
उनीहरुले जनावरको काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासु खाने तथा मासु खाने प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन नगर्ने, सोही उद्देश्यले चुम उपत्यका हुँदै हिडाउन नदिने प्रतिवद्धता जनाएका छन् । त्यस्तै काम दिन नसक्ने गरी बुढो भएको जनावरलाई नमार्ने वा मासु खाने व्यक्तिलाई नबेच्ने र चौंरीको बाच्छा नमार्ने प्रतिवद्धता जनाएका छन् ।

चुमभ्याली घुम्न जाने आन्तरिक तथा बाहय पर्यटकहरुले पनि सोहि नियम पालना गर्नुपर्ने हुन्छ । यहाँका सबै होटलहरु शाकाहारी छन् । यस गाउँको प्रहरी चौकीमा बस्ने प्रहरी तथा तल्लो क्षेत्रबाट गएका कर्मचारीले समेत काटमार गर्दैनन्, मांश आहार गर्दैनन् ।

१९७७ सालको वुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराएका थिए । त्यतिबेलादेखि उत्तरी चुम उपत्यका अहिंसा क्षेत्रको रुपमा निरन्तर कायम छ ।

अहिंसा क्षेत्रलाई स्थानीय वासिन्दाले विभिन्न मितिमा पुन अनुमोदन गर्दै आएका छन् । १९७७ पछि १९९६, २०२७, २०२९, २०५५ सालमा पनि स्थानीय बासिन्दाले अहिंसा क्षेत्रलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । २०६५ सालमा छेकम्पार गाउँ परिषदले अहिंसा क्षेत्रको चार किल्ला घोषणा ग¥यो भने २०६६ सालमा पहिलो चुम श्याग्या (अहिंसा) महोत्सव आयोजना गरिएको थियो । त्यस्तै २०६९ मा चुम्चेत (चुम उपत्यकाको तल्लो क्षेत्र) लाई पनि अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।

कसरी पुग्न सकिन्छ ?

श्याग्या महोत्सवस्थल पुग्न काठमाडौंबाट स्थलमार्ग भएर ४ दिन लाग्छ । २ दिन गाडीमा र २ दिन हिँडेर पुग्न सकिन्छ । हेलिकप्टरबाट जाँदा काठमाडौंबाट ३५ मिनेटमा पुगिन्छ । हेलिकप्टर रिजर्भको भाडा करिब ३ लाख रुपैयाँ पर्छ । मनास्लु पर्यटन पदमार्ग अन्तर्गत पर्ने यो उपत्यका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको रहेक वर्ष बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्