| बुधबार, कार्तिक २५, २०८३

‘गोरखा समय’ लाई ब्राण्डिङ गर्छुु : प्रजिअ भुषाल

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सेवाग्राहीलाई दिने सेवा प्रवाहमा नयाँपन दिने बताएका छन् ।

बुधवार पत्रकारहरुसँगको भेटघाटमा उनले कुनै पनि कार्यक्रम निर्धारित समयमै सुरु गर्ने र त्यसलाई ‘गोरखा समय’का नाममा ब्राण्डिङ गर्ने बताए ।

‘बाध्यतावशः म स्वयं कुनै कार्यक्रममा पुग्न ढिला भयो भने पनि कार्यक्रम भने निर्धारित समयमै सुरु गर्न भन्नेछु र म पुगेपछि कारणसहित माफी मागी कार्यक्रममा सहभागी हुने अभ्यासको थालनी गर्नेछु’, उनले भने ‘यसलाई कम्तिमा पनि सरकारी कार्यालयहरुमा अनिवार्य रुपमा कार्यान्वयन गर्ने जमर्को गर्नेछु । पब्लिक सर्भिसलाई केन्द्रमा राखेर काम गर्ने गरी हामीले योजनाएका बनाएका छौँ, अब त्यसलाई सुधार गर्दै लैजानेछौँ ।’

नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र बनाउन सर्वसाधारणलाई अझै सजिलो बनाउने, अन्य कार्यालयहरुबाट सहज सेवा प्रदान गर्न प्रयत्न गर्ने उनले बताए ।

विकास निर्माणका योजना सममै पूरा गर्न निर्माण ब्यवशायी र सम्बद्ध कार्यालयहरुसँग समन्वय गर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउने जस्ता काममा आफ्नो प्राथमिकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्