
हेलीले ओर्सार्दै दुर्गमका विकासमा खजाना
बिगत एकसातादेखि माछाखोलाबाट उत्तरी गोरखाको साम्दो र छेकम्पारसम्म लगातार हेलिकोप्टर ओहोरदोहोर गरिरहेको छ । त्यसले लामो डोरीमा विभिन्न सामानका पोका पुन्तुरा झुण्ड्याएर ओसारिरहेको देखिन्छ ।
यो पोका पुन्तुराभित्र गोरखाको अन्तिम बस्ती छुलेनिले र साम्दोका विकास निर्माणका खजाना छन् । अजंगको भारी झुण्ड्याउँदै बूढीगण्डकीमाथि ओहोरदोहोर गर्ने यो हेलिकोप्टर कहिले पूर्व स्यार खोलाखोलै चुम उपत्यकातिर लाग्छ, कहिले बूढीगण्डकीको माथिमाथि नुब्री उपत्यकातिर ।
हेलिकोप्टरबाट सामान ओसारेर अहिले उत्तरी गोरखाको बिकट क्षेत्रमा विकास निर्माणको काम गरिएको छ । सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका वडा नं. १ साम्दो र वडा नं. ७ छेकम्पारमा हेलिकोप्टरबाट सामान ढुवानी गरेर पुल तथा विद्युतीकरणको काम गरिएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
‘कादुरी संस्थाले हेलिकोप्टरबाट पोल, तार, ट्रान्सफर्मरलगायतका सामग्री बोकेर साम्दोमा विद्युतीकरण गर्न लागेको हो’, लामाले भने, ‘अनि लठ्ठा, ठूला रड र डेकहरु हेलिकोप्टरबाट ढुवानी गरेर छेकम्पारको छुलेमा र स्यार खोलामा झोलुंगेपुल बनाउन लागिएको हो ।’ कादुरी संस्थाले दुईबर्षअघि सामागाउँमा १०० किलोवाट क्षमताको विजुली उत्पादन गरेको थियो । सो विद्युत साम्दोको करिब ४५ घरधुरीमा जोड्न लागिएको उनले बताए ।
सडक पुगेको माछाखोलासम्म ती सामग्रीहरु ट्रकद्वारा ढुवानी गरिएको थियो । त्यहाँबाट खच्चड र मान्छेले पाँचदेखि सातदिन लगाएर बोकेर सम्दो तथा छेकम्पार पु¥याउनु पर्ने हुन्छ । भीर, कुनाकप्चेराको बाटोमा पोल, लठ्ठा, मोटा रड, ट्रान्सफर्मर जस्ता सामग्रीहरु मान्छे वा खच्चडले बोक्न सम्भव नभएकाले हेलिकोप्टरबाट ढुवानी गर्नुपरेको कादुरी संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले जानकारी दिए ।
‘पोल, लठ्ठा, मोटा रडजस्ता सामानहरु न त मान्छेले बोक्न सक्छन्, न त खच्चडलाई बोकाउन सकिन्छ’, उनले भने, ‘त्यस्ता सामानहरु हेलिकोप्टरभित्र राखेर लैजान पनि नसक्ने भएकाले ‘स्लिङ’ गरेर ओसारिँदैछ ।’ पुल निर्माणको काम तीन महिनाभित्र र विद्युतीकरणको काम दुई महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
छुले खोला पुल बनेपछि छुले र निले गाउँका करिब ७० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै चुम उपत्यका भ्रमण गर्ने पर्यटक, म्हु गुम्बा जाने भक्तजन तथा तिब्बत जानेहरुलाई सहज हुने गाउँपालिका अध्यक्ष लामा बताउँछन् । ‘स्यार खोलामा पुल बनेपछि किसानहरुलाई खोलापारिको जग्गा, चरन क्षेत्र र पावरहाउस जान स्थानीयलाई सजिलो हुन्छ’, लामा भन्छन्, ‘साम्दोको ४५ घरधुरीमा कादुरीको विजुली पुगेपछि अब चुमनुब्रीमा विद्युतीकरण गर्न राना र ड्याङ गाउँ मात्र बाँकी रहन्छ । त्यसपछि कादुरीले पुरै चुमनुब्री उज्यालो बनाउनेछ ।’ दुर्गम क्षेत्र विकास गर्न कादुरी संस्था सारथीका रुपमा रहेको उनले बताए ।




