
भिमसेनथापा गाउँपालिकाका शहिदका परिवार र पुर्व जनप्रतिनिधहरुलाई सम्मान
भीमसेन थापा गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा पालिकाभित्रका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सोमबार ‘ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध, समाजवाद उन्मुख नमुना गाउँपालिका निर्माण शुभारम्भ’ गर्दै गाउँपालिको सहिद परिवारलाई सम्मान गरेको हो ।
पालिकाभित्रका ३३ जना सहिद परिवारलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रशासन शाखाका कर्मचारी लोकराज ढुङ्गानाले बताए । सोही कार्यक्रममा गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरु ४४ जनालाई सम्मान गरिएको थियो । त्यस्तै, पालिकाभित्रका एथलेटिक्स खेलाडी श्याम मग्राती, लोकदोहोरी गायक सचिन भट्टराई, गायिका सरुना दवाडीलाई पनि सम्मान गरिएको उनले बताए ।
सोहि कार्यक्रममा पालिको कृषि प्रदर्शनी आयोजना गर्नका लाग बगुवामा हाटबजार उद्घाटन गरिएको थियो ।
साथै कृषि प्रदर्शनीबाट उत्कृष्ट हुने कृषकहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, भीमसेन थापा गाउँपालिका र चुमनुब्री गाउँपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको छ । बूढीगण्डकी शिरमा रहेको चुमनुब्री गाउँपालिका र भीमसेन थापा बीच विकास निर्माण लगायतका काममा अनुभवहरु आदानप्रदान गर्न भगिनी सम्बन्ध गाँसिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सांसद सुशीला सिम्खडा, चुमनुबी गाउँपालिका अध्यक्ष निमा लामा लगायतको उपस्थिति थियो ।




