| बुधबार, कार्तिक २५, २०८३

राष्ट्रपतिको बिषयमा सर्वसहमति जुटाउने पक्षमा छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति जस्तो गरिमामय पदका बारेमा सबैको सहमति जुटाएर निष्कर्षमा पुग्नु उपयुक्त हुने बताएका छन् । गृहजिल्ला गोरखामा आइतबार पत्रकारहरुसँगको भेटमा उनले राष्ट्रपतिको बारेमा खुल्ला हृदयले सोच्नु पर्नेमा जोड दिएका हुन् ।

‘सुरुमा विश्वासको मत लिने तयारी गर्दैगर्दा काँग्रेसलगायत अन्य दलको समर्थन थिएन, तर विश्वसाको मत लिँदा हामी समर्थन गर्छौँ भनिसकेपछि त्यसले जे सहमतिको सहकार्यको माग गर्छ त्यस बारेमा खुल्ला हृदयले सोच्नु, व्यापक दायरामा सोच्नु हाम्रो पनि त जिम्मेवारी हो’, उनले भने, ‘जो हामी सरकारका छौँ । हाम्रो भनाइ त्यहि नै हो । प्रधानमन्त्रीले विश्वासको मत लिदा संसदमा राष्ट्रिय सहमतिको संकेत देखा परेकोले यसले पार्टीलाई थप जिम्मेवारी बोध गराएको छ ।’

राष्ट्रपतिका बिषयमा कसलाई सहयोग गर्ने, कसलाई नगर्ने भन्ने बारे माओवादीले कुनै धारणा नबनाएको उनले बताए । ‘हाम्रो पार्टीले कसलाई साथ दिने र कसलाई नदिने भनेर नीति बनाएको हैन । यसलाई ठूलो जिम्मेवारी बोधका रुपमा हामीले महशुस हामीले गरेका छौँ’, उनले भने, ‘सकेसम्म यस्तो गरिमामय जिम्मेवारी पदमा सबैको सहमति हुने स्थिति बन्नु राम्रो हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो । त्यस बारेमा छलफल भइरहेको छ । कुनै ठोस निर्णयमा पुगिसकेको स्थिति छैन ।’ कुनै एउटा पार्टीको पक्षमा भागवण्डा गर्नु वा एकदुई वटा पार्टी बसेर निर्णय गर्नु भन्दा राष्ट्रपतिमा जोसुकै भएपनि सबैको सहमतिमा भएमा उपयुक्त हुने उनले बताए ।

‘संघीयल लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको रक्षा हुनुप¥यो त्यसमाथि कहीँकतैबाट प्रहार हुनुभएन, त्यसलाई संस्थात गर्ने संविधानको रक्षा हुनुप¥यो’, उनले भने, ‘सामाजिक न्याय सहितको समृद्धिको उद्देश्यमा बाधा व्यवधान हुनु भएन, यो हाम्रो बटम लाइन हो । यसले नै हाम्रो सबै कुरा निर्धारण गर्छ तर हामीले अहिलेको समिकरणलाई हाम्रो इच्छाले यताउता गर्ने भनेर सोच्दैनौँ ।’

कर्णाली प्रदेशमा मुल पार्टीको असहमति नभई नागरिक उन्मुक्ति पार्टी अनुपस्थिति हुँदा गठबन्धन सरकारको मुख्यमन्त्रीले विश्वासको मत गुमाउनु परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्