| बुधबार, कार्तिक २५, २०८३

गोरखामा जनयुद्ध दिवस मनाउने विषयमा तनाब

बारपाक सुलीकोट गाउँपालिकामा अघिल्लो कार्यकाल पनि माओवादीका विष्णु भट्टको टिम विजयी भएका थिए । उनले जनयुद्धका सहिद, बेपत्ता आदिका शीर्षकमा निर्वाध बजेट विनियोजन गरेका थिए । जनयुद्ध दिवस मनाएका थिए ।

यसपटक बारपाक सुलीकोट लगायत सात वटा पालिकामा माओवादीको नेतृत्वले जितेको छ । ती पालिकामध्य भीमसेनथापा र गण्डकी गाउँपालिकाले यी शीर्षकमा अधिक बजेट विनियोजन गरेको छ । जनयुद्ध धमधामले मनाउने निर्णय गरेको छ । साथै पालिकाभरि सार्वजनिक विदा गर्ने पनि निर्णय गरेका छन् ।

अध्यक्ष, उपाध्यक्षसहित धेरै वडाअध्यक्ष जितेको बारपाक सुलीकोट गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा घोषणा गरेपछि माघ २२ गतेको कार्यपालिकाको बैठकले भीमसेनथापा गाउँपालिकाले सो दिन सार्वजनिक विदा दिने निर्णय ग¥यो । नेपाली कांग्रेसबाट विजयी उपाध्यक्ष अमृता वस्ती तथा कांग्रेसबाट विजयी वडाअध्यक्षहरुले चर्को बिरोध गरे । अन्ततः कार्यपालिका बैठकले सार्वजनि विदा दिने निर्णय ग¥यो ।

‘तपाईँहरु आफ्नो दिवस जसरी मनाउनुहुन्छ, मनाउनुस्, पालिका विदा गर्न पाउनुहुन्न भनेर म र केही वडाअध्यक्षहरु बिरोध ग¥यौँ’, उपाध्यक्ष वस्तीले भनिन्, ‘तर हाम्रो कुरा सुनुवाइ भएन । जबर्जस्ती निर्णय गरे । मैले नोट अफ डिसेण्ट लेखेको छु । कांग्रेसबाट विजयी हुनुभएका वडाअध्यक्षहरुले निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुभएको छैन ।’

संविधानमा माओवादीले प्रयोग गर्ने ‘जनयुद्ध’ शव्द प्रयोग नभएको अबस्थामा स्थानीय तहले नै सार्वजनिक विदा गरी जनयुद्ध दिवस मनाउन लागेको विषय पालिकास्तरमै विवाद बनेको छ ।

एउटा पार्टीको कार्यक्रम गर्दा पालिकामा सार्वजनिक विदा गर्न नहुने आफूहरुको भनाइ नसुनी लतारेर निर्णय गरेको वडा नं. ३ का वडाअध्यक्ष ऋषिराम लामिछानेले बताए । ‘तपाईहरुको पार्टीको कार्यक्रम जसरी मनाउनुहुन्छ, मनाउनुस् तर पालिकामा विदा गर्न पाइन्न भनेर हामीले बिरोध गर्दागर्दै पनि लतारेर लगे । निर्णय गरिछाडे’, लामिछानेले भने, ‘हामीले माइन्यूटमा साइन गरेका छैनौँ ।’

गण्डकी गाउँपालिकाको गत बुधबार सम्पन्न कार्यपालिका बैठकले पनि जनयुद्ध दिवस मनाउने र सो दिनमा पालिकाभर सार्वजनिक विदा गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । ‘पार्टीका बरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि बनाएर जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय गरेका छौँ’, तिमिल्सिनाले भने, ‘त्यस दिन पालिकामा सार्वजनिक विदा दिने पनि निर्णय भएको छ ।’

तर सो बैठकमा आफू सहभागी नै नभएको उपाध्यक्ष ललिता अधिकारी बताउँछिन् । ‘बैठकको एजेण्डासहित खबर आएको थियो । अब त्यो प्रस्ताबमा जति बिरोध गरे पनि हाम्रो सुनुवाइ हुदैन भन्ने थाहा थियो’, अधिकारीले भनिन्, ‘त्यहाँ गएर साक्षी बस्नु भन्दा बरु मिटिङमै जान्न भनेर मत गइन । यदि उनीहरुको दाबी जायज हो भने देशभर सार्वजनिक विदा दिएर केन्द्र सरकारले पनि जनयुद्ध दिवस मनाउन सक्नुप¥यो नि । सक्छ ? जहाँजहाँ बल पुगेको छ, त्यहाँत्यहाँ जे पायो त्यही गर्न पाइँदैन ।’

माओवादीबाट विजयी भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा भने फराकिलो सोचाइ राखेर सबै पार्टीको अस्तित्व स्वीकार गर्न सक्नु पर्ने तर्क गर्छन् । ‘साँगुरो सोचाइ राखेर मुलुकलाई शान्ति प्रक्रियामा अघि बढाउन कहाँ सकिन्छ ?’, उनी भन्छन्, ‘जनयुद्धका सर्वोच्च कमाण्डरको नेतृत्व मुलुकले स्वीकार गरेको छ । मिलेर चुनाव लडेको छ, मिलेर सरकार चलाएको छ, अनि त्यही पार्टीले आव्हान गरेको जनयुद्ध दिवस अस्वीकार गर्ने साँगुरो सोचाइ राख्नु हुन्न ।’

पालुङटार नगरपालिले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदा दिने भएको छ । बिहिबार बसेको कार्यपालिकाको निर्णय अनुसार फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेको पालुङटार नगरपालिका नगर प्रमुखका स्वकिय सचिव अशोक मरहट्टाले जानकारी दिए । जनयुद्ध सुरुभएको दिनको समझनामा माओवादीले फागुन १ गतेलाइ दिवसको रुपमा मनाउदै आएको छ ।

माओवादीले नै जितेका अरु पालिकाले भने जनयुद्धका सहिद, बेपत्ता आदिका नाममा बजेट विनियोजन गरेको पनि छैन । सार्वजनिक विदा गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरेको पनि छैन ।

यो पनि पढनुहोस्

प्रतिक्रिया दिनुहोस्