| बुधबार, कार्तिक २५, २०८३

गोरखामा गण्डकी जलाधार क्षेत्रमा जलवायु उत्थानशील आयोजना लागू

जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा परेको असर न्यूनिकरणका लागी पहल शुरु भएको छ । असर न्यूनिकरणका लागी भन्दै गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना लागू भएको छ । सन् २०२२ बाट लागू भएको उक्त आयोजनाबारे शुक्रवार एक कार्यक्रमका बिच जिल्लाका सरोकारवालाहरुलाई जानकारी समेत गराइएको छ ।

जलवायु परिवर्तनका कारण जोखिममा रहेका गण्डकी जलाधार क्षेत्रका समुदाय र स्थानको सुधार गर्न आयोजना मार्फत बिभिन्न कार्यक्रम संचालन हुने आयोजना प्रमुख सुजन कुमार महर्जनले बताए । असर कम गर्नका लागी लघु सिंचाइ तथा थोपा सिंचाई, वृक्षारोपण लगायतका कामहरु गरिने बताइएको छ ।

उक्त आयोजनाबाट १ लाख ५८ हजार घरधुरी लाभान्वित हुने छन् । त्यस्तै १ लाख १३ हजार हेक्टर जमिन र ५६ हजार ४ सय हेक्टर जंगल क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भनिएको छ । २० जना जलवायु उत्थानशिल नमूना कृषक उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको महर्जनले जानकारी दिए । उक्त आयोजनाबाट २ लाख ९ सय ७४ टन कार्वन उत्सर्जन घट्ने अपेक्षा समेत गरिएको छ ।

कार्यक्रममा संचालनका लागि गोरखाको आवश्यकता बारेमा छलफलको चरणमा रहेको योजना तयार भए पनि ठाउँमा सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा तोकिने जलबायु परिवर्तन विभाग राष्ट्रिय प्रकृति संरक्षण कोषका विभागीय प्रमुख डा. मनिषराज पाण्डेले बताए ।

जलवायु परिवर्तनमा प्रभाव पार्ने प्रमुख तत्वको रुपमा कार्वनलाई लिने गरिन्छ । सात बर्षका लागी संचालन हुने उक्त आयोजनाले गण्डकी जलाधार क्षेत्र पर्ने बाग्मती, गण्डकी र लुम्विनि प्रदेशका २० जिल्ला समेट्ने छ ।
कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्णरानाले यस परियोजना मार्फत संचालन हुने योजनाहरु दिर्घकालिन हुनेपर्ने जोड दिएका थिए ।

जिल्लामा रहेका सरकारी कार्याय र स्थानीय तहले संचालन गरिरहेका कार्यक्रमहरुसँग नजुध्ने गरी सबैसँग समन्वय गरेर जानुपर्ने जिल्ला समन्य समितिका प्रमुख मोहन बहादुर थापामगरले बताए । उक्त कार्यक्रम संचालनमा स्थानीय जनसहभागिता बढाउनुपर्ने र वातावरणमैत्री कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर, पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगाना, डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोक कुमार श्रेष्ठ, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाका प्रमुख केशव देवकोटा लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषकी अधिकृत लिना चालिसे, डा. मनिषराज पाण्डे लगायतले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्