
गोरखाली समाज युके ट्रष्टद्धारा १९ विद्यालयलाई शैक्षिक सामग्री वितरण
गोरखाली समाज युके ट्रष्टले गोरखाका १९ विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकोे छ । गोरखा सदरमुकाममा शुक्रबार आयोजित कार्यक्रममा जिल्लाभित्रका सबै स्थानीय तहबाट छनौट भएका विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
जिल्लाका १० स्थानीय तहबाट छनौट भएका १९ वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई छात्रावृत्तिको सामग्री वितरण गरिएको संस्था व्यवस्थापक तथा कार्यक्रम संयोजक शरण श्रेष्ठले बताए । विद्यार्थीलाई दुई दर्जन कपी, झोला, विद्यालय पोशाक वितरण गरिएको उनले बताए । १९ वटा विद्यालयका २ सय भन्दा बढी विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका छन् ।
कक्षा ३ देखि ९ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।
सोहि कार्यक्रमकै अवसरमा गोरखाली समाज युके ट्रष्टका उपाध्यक्ष तिल कुमारी गुरुङले छात्रावृत्ति पाउने विद्यार्थीहरु मध्यबाट उत्कृष्ट अंक ल्याउने एक जना छात्रालाइ वार्षिक रुपमा १५ हजार नगदले सम्मान गर्ने घोषणा गरेकी छन् । साथै छात्रवृत्तिले विद्यार्थीहरुको पठनपाठनमा धेरै सहयोग पुग्ने उनले बताइन् ।

आर्थिक अवस्था कमजोर भएका तथा गरिब, विपन्न वर्गका बालबालिकाहरु शिक्षाबाट बन्चित नहुन भन्ने उद्देश्यले समाजले हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको समाजका अध्यक्ष जय प्रकाश गुरुङले बताए । कार्यक्रममा प्रमुख गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले गोरखाली समाज युके ट्रष्टद्धारा संचालित यो कार्यक्रम विद्यार्थीका लागि निकै फलदायी भएको बताइन् ।
समाजका अध्यक्ष जय प्रकाश गुरुङको अध्यक्षतामा तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष तिल कुमारी गुरुङ, कोषाध्यक्ष भिम प्रसाद तामाङ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङ लगायतका विभिन्न विद्यालयबाट प्रधानाध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।




