
गोरखा नगरपालिकामा विपद् जोखिमसम्बन्धी कार्यक्रम
गोरखा नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । विहिबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका विपद् सम्बन्धी जानकारी गराइएका नगरपालिकाका वातावरण अधिकृत ध्रुवप्रसाद घिमिरेले बताए ।
कार्यक्रमले स्थानीय सरकारहरुलाई विपद् जोखिम न्यनूनिकरण तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्दा र यसको प्रगति र चुनौतीहरुको अनुगमन तथा समीक्षा गर्ने सहयोग पुग्न उनले बताए । साथै जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्रणाली क्षमताहरुमा नगरपालिकाका सबल पक्षहरु पत्ता लगाउन, नगरपालिकाको विपद् व्यवस्थापनमा कमिकमजोरीहरुको पहिचान गर्न र नगरपालिकाको स्वमूल्यांकन प्रणालीबाट नगरपालिकाको विपद् व्यवस्थापनको अवस्थामा पत्ता लगाउन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
गोरखा नगरपालिकाले विपद् स्वमुल्याकंनबाट २०७७÷०७८ मा ७१ अंक प्राप्त गरेको थियो भने २०७८÷०७९ मा ९० अंक प्राप्त गरेको थियो । मुख्य १० वटा अनुसूची र त्यसभित्र ६५ वटा सूचकका आधारमा विपद् स्वमुल्यांकन हुने गरेको उनले बताए ।
एसआइटी र तयार नेपालको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तयार नेपालबाट डा कृष्णबाबु जोशी, सुधार रिमालले प्रस्तुतीकरण दिएका थिए ।
नगरपालिकाका प्रमुख कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगरस्तरीय विपद् व्यवस्थापन समिति, गोरखा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी गोरखा, तीन वटा सुरक्षा निकाय, नगरपालिकाका विषयगत समितिका संयोजक, वडा अध्यक्ष नगरपालिका शाखाका प्रमुख लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।




