
जनयुद्ध दिवसमा गोरखाका ६ पालिकाद्वारा सार्वजनिक विदा घोषणा
बारपाक सुलीकोट, भीमसेनथापा, गण्डकी, धार्चे, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले जनयुद्ध दिवस मनाउन पालिकामा सार्वजनिक विदा घोषणा गरेका छन् ।
छ वटै पालिकाका कार्यपालिका बैठकले आउँदो फागुन १ गते जनयुद्ध दिवस मनाउने र त्यस दिन पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
भीमसेनथापा गाउँपालिकाले गत २२ गते आइतबार, बारपाक सुलीकोट गाउँपालिकाले गत २३ गते, गण्डकी गाउँपालिकाले गत बुधबार कार्यपालिका बैठकले र पालुङटार नगरपालिकाले विहिबार बसेको वैठकले निर्णय गरी जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
त्यस्तै, धार्चे गाउँपालिकाले १५ गतेको वैठक र अजिरकोट गाउँपालिकाले शुक्रबारको वैठकले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
जनयुद्ध सुरुभएको दिनको समझनामा माओवादीले फागुन १ गतेलाइ दिवसको रुपमा मनाउदै आएको छ ।
बारपाक सुलीकोट गाउँपालिकाले बिगत पाँचबर्षदेखि नै सार्वजनिक विदासहित जनयुद्ध दिवस मनाउँदै आएको थियो भने अरु दुई पालिकाले यस पटक पहिलो पटक दिवस मनाउन खोजेका हुन् ।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादी सशस्त्र जनयुद्ध घोषणा गरी युद्धमोर्चामा होमिएको थियो । सोही दिनको स्मरणमा माओवादीले जनयुद्ध दिवस मनउँदै आएको छ ।




