| बुधबार, कार्तिक २५, २०८३

मौरीको गोला र तरकारीको बिरुवा सहुलियतमा किसानलाई दिँदै कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र गोरखाले गत वर्षदेखि सुरु गरेको स्रोत केन्द्रमा अहिले ४० घार भन्दाबढि मौरी छ । त्यहाँ कांक्रो, काउली, घिरौँला, लौका, करेला, फर्सी लगायत तरकारीका बिरुवा पनि छन् । किसानले अहिले सहुलियत दरमा त्यहाँबाट तरकारीका बिरुवा देखि अनुदानमा मौरीका गोला समेत पाउँछन् ।

‘हामीसँग भएका तरकारीका बिरुवा प्रतिगोठा २० रुपैयाँका दरले सहुलियतमा दिएका छौँ’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने ‘बजारमा ४० देखि ५० पर्छ, यहाँबाट लिँदा किसानलाई केही सहुलियत हुनेछ ।’ बिरुवा कृषि ज्ञान केन्द्रको कार्यालयबाटै किसानलाई दिँदै आइएको उनले बताए ।

मौरीको गोलाकालागि ज्ञान केन्द्रले आह्वान गरेको प्रस्ताब पेश गर्नुपर्छ । ५० प्रतिशत सम्म अनुदानमा मौरी बितरण गरिँदै आइएको ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताए ।

ज्ञान केन्द्रले गोरखा नगरपालिका ७ मान्द्रेढुङमा रहेको २२ रोपनी जग्गामा स्रोत केन्द्र बिस्तार गरेको छ । त्यहाँ दुईवटा घर छ । दुईवटा टनेल निर्माण गरिएको छ । मौरीका लागि चाहिने फुलहरु रोपिएका छन् । तरकारीका बिरुवा टनेलमा हुर्काइएको छ । बारीमा थरिथरिका तरकारी लगाइएको छ ।

‘हामीले यहाँ हेरालु राखेर र आवस्यक परेका बेला अन्य कामदारपनि खोजेर काम लगाउँदै आएका छौँ’ कृषि ज्ञान केन्द्रका सुचना अधिकारी प्रमोद गैरेले भने । किसानलाई बिक्री गर्ने सँगसँगै केही कुरा स्रोत केन्द्रबाट सिकाउने लक्ष्य रहेको उनले बताए ।

ज्ञान केन्द्रले संचालन गरेको स्रोत केन्द्रमा विषादी, रसायनीक मलको प्रयोग गरिँदैन । किसानले त्यहाँ गएर कसरी उत्पादन भएको छ वा बिरुवा तयार गर्ने विधीको बारेमा निशुल्क ज्ञान लिन पनि सक्नेछन् ।

‘यहाँ अन्यत्रबाट प्रयोगात्मक अभ्यास गर्न कृषि अध्ययन गरेका विद्यार्थीहरु आउनुहुन्छ’ कृषि ज्ञान केन्द्रका प्रमुख पशुराम अधिकारीले भने ‘उहाँहरुलाईपनि सिक्ने ठाउँको रुपमा यो रहेको छ ।’ स्रोत केन्द्रको जमिनलाई अझै ब्यवस्थित गरेर बिस्तार गर्न लागिपरेको उनले बताए ।

गत वर्ष प्रदेशबाट प्राप्त ५० लाखले अलपत्र रहेको स्रोत केन्द्रलाई तारबार, भबन मर्मत, टनेल निर्माण गरेर ज्ञान केन्द्रले संचालनमा ल्याएको थियो । यस वर्षपनि पाँच लाख रुपैयाँ बजेटबाट त्यहाँको ब्यवस्थापन गर्ने योजना रहेको प्रमुख अधिकारीले बताए ।

‘यहाँ किसानलाई आधुनिक खेती प्रविधि सिकाउने, खेती प्रणाली बताउने ठाउँको रुपमा पनि बिकास गर्न खोजिएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्