
इशाइ धर्म प्रवद्र्धनलागि लाखौँ खर्च गर्दै गोरखाका पालिकाहरु
गोरखाका नगरपालिका तथा गाउँपालिकाहरुले इशाइ धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गर्ने गरेका छन् । दुई नगरपालिका तथा पाँचवटा गाउँपालिकाले इशाइ धर्म प्रवद्र्धन गर्न बजेट विनियोजन गर्ने गरेका हुन् ।
जिल्लाका पालिकाहरुको आर्थिक बर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम विश्लेषण गर्दा सबैभन्दा धेरै गोरखा नगरपालिकाले सातवटा शीर्षकमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्ष गोरखा नगरपालिकाले पालिकास्तरका २२ लाखका दुई योजना र वडास्तरका पाँचवटा गरी ३२ लाखको इशाई धर्म प्रवद्र्धन तथा विकासका लागि योजना तय गरेको छ ।
नगर इशाइ समाजभित्रका चर्चको व्यवस्थापन कार्यक्रममा नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । क्रिसमस दिवश मनाउने खर्च भनेर दुईलाख रुपैयाँ विनियोजन गरेको छ । सो बजेटबाट गोरखा सदरमुकाममा क्रिसमस मनाइसकिएको छ ।
त्यस्तै वडास्तरका बजेटबाट वडा नं.३ मा बेलस्वाँरा चर्चका लागि एकलाख, वडा नं. ५ स्थित चर्च जाने सिढी बाटो निर्माणका लागि तीनलाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै वडा नं. ११ ले स्थानीय विनय चर्चका लागि दुईलाख र सिर्दी चर्चका लागि तीनलाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै वडा नं. १२ ले हिमालय चर्च मर्मत शीर्षकमा एकलाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
पालुङटार नगरपालिकाले पनि इशाइ धर्म प्रवद्र्धन कार्यक्रमलाई मनग्य विनियोजन गरेको छ । इसाइ समाज प्रार्थना भवन निर्माण योजनामा १० लाख, इशाइ धर्मावलम्बीको दफन क्षेत्र निर्माणका लागि १० लाख रुपैयाँ सो नगरपालिकाले विनियोजन गरेको छ ।
त्यस्तै वडा नं. २ को कार्यालयले ओढारे चर्च संरक्षण योजनामा एकलाख, वडा नं. ८ ले लामाचौर चर्च पर्खाल निर्माणमा दुईलाख र वडा नं. ९ को कार्यालयले छरछरे चर्चका लागि डेढलाख रुपैयाँ विनियोजन गरेको छ ।
बारपाक सुलीकोट गाउँपालिकाले पनि इशाइ धर्म प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ । बारपाक तल्लोचर्च घेराबार निर्माणका लागि चारलाख, तुम्सिका मण्डली भवन निर्माणका लागि चारलाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । वडा नं. ६ को कार्यालयले सत्यवचन परमेश्वरी मार्गदर्शन भवन निर्माणका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी धार्चे गाउँपालिकाले हुल्चुक मण्डली किचन निर्माणका लागि चारलाख, गण्डकी गाउँपालिकाको वडा नं. ७ को कार्यालयले चेपाङ गाउँमा इशाइ प्रवद्र्धन गर्न चेपाङगाउँ चर्च निर्माण योजनाका लागि तीनलाख रुपैयाँ विनियोजन गरेको छ ।
भीमसेनथापा गाउँपालिकालेवडा नं. १ मा चर्च भवन संरक्षण शीर्षकमा एकलाख र वडा नं. ५ को चर्च भवन व्यवस्थापन शीर्षकमा एकलाख रुपैयाँ विनियोजन गरेको छ ।
आरुघाट गाउँपालिकाको वडा नं. २ कार्यालयले चर्च भवन निर्माणका लागि दुईलाख, वडा नं. ७ ले न्यू भिजन चर्च मर्मतका लागि एकलाख, वडा नं. ८ को कार्यालयले लामागाउँ चर्च निर्माण योजनाका लागि एकलाख र वडा नं. ९ ले चर्च भवन व्यवस्थापन योजनाका लागि तीनलाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
आर्थिक बर्षको सुरुमा नियमित कार्यसूची अनुसार वडाका टोलस्तरको भेलामा जाँदा ठूलै जमातले माग गर्ने गरेकाले बजेट विनियोजन गरिदिनु परेको बारपाक सुलीकोट ६ का वडाअध्यक्ष बाबुलाल गुरुङ बताउँछन् ।
पालुङटार नगरपालिकाकी उपमेयर बन्दना पाण्डे भने सबै धर्मावलम्बी आफूहरुका लागि समान भएकाले सबै धर्म समुदायलाई झैँ इशाइहरुलाई पनि बजेट तथा कार्यक्रम दिएको तर्क गर्छिन् ।




