| बुधबार, कार्तिक २५, २०८३

शहिदलखन गाउँपालिकाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

शहिदलखन गाउँपालिकाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सोमबार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पालिकाको आर्थिक विकासतर्फ ७ प्रतिशत, सामाजिक विकास तर्फ ३७ प्रतिशत, पूर्वाधार विकास तर्फ १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २७ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकमा ५२ प्रतिशत गरी जम्मा ३१ प्रतिशत खर्च भएको आर्थिक प्रशासन शाखाका लेखा अधिकृत सन्तोष लामिछानेले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा हालसम्म चालु खर्चतर्फ ४१.८८ प्रतिशत र पूँजीगत तर्फ १५.६४ प्रतिशत खर्च भएको र कुल ३१ प्रशित खर्च भएको उनको भनाइ छ ।

प्रशासन शाखाका रामचन्द्र गिरीले गाउँपालिकाको हालसम्मका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । उनले पालिकामा सेवा प्रवाहको लागि जनशक्तिको अवस्था बारे जानकारी दिँदै हाल पालिकाभित्रका स्थायी कर्मचारी ६१ र करार कर्मचारी गरी ८८ जना कार्यरत रहेको बताए ।

पालिकाले पारदर्शिता तथा सुशासन प्रवद्र्धनका लागि भएका प्रयासहरुबाट बारेमा जानकारी दिएका थिए । यसका लागि डिजिटल नागरिक वडा पत्रको व्यवस्था गरेको, गुनासो पेटिका व्यवस्था गरेको, सूचना अधिकारी तोकिएको र आर्थिक करोबार सफ्टवेयरमार्फत गर्ने गरिएको, नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने गरिएको उनले जानकारी दिए । बेरुजु न्यूनिकरणका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रयोग गर्ने गरिएको र १५ लाख ५० भन्दा बढि योजना तथा कार्यक्रमहरु विद्युतीय बोलपत्र प्रणालीमार्फत कार्यान्वयन गर्ने गरिएको उनले बताए ।

पालिकाको स्वास्थ्य शाखा संयोजक वीरेन्द्र श्रेष्ठले पालिकाले ६ महिनाभित्र गरेका कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए । पालिकाभित्र रहेको स्वास्थ्य केन्द्रहरुमा भएका बर्थिङ सेन्टर, बहिरंग उपचार केन्द्र, किशोरकिशोरी मैत्री, पोषण कर्नर र स्तनपान कक्षबाट विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको उनले बताए । उनकाअनुसार पालिकाभित्रका स्वास्थ्य संस्था नौ वटा, स्वास्थ्य चौकी ६ वटा, आधारभूत स्वास्थ्य केन्द्र ३, गाउँघर क्लिनिक र खोप क्लिनिक २३÷२३ वटा र स्याटलाइट क्लिनिक ९ वटा रहेका छन् ।

त्यस्तै, अपाङ्गता परिचयपत्र घरघरमै पुगेर वितरण गरिएको र विरामीहरुको बर्गीकरण अनुसार आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई विपन्न सिफारिस वितरण गरिएको उनले बताए । त्यस्तै पालिकामा संचालनमा आएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम पनि धेरै प्रभावकारी देखिएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पालिकाका कृषि शाखाको तर्फबाट कृषिअधिकृत ऋषि रोकाले पालिकाभित्रका कृषि सम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले शहिदलखन गाउँपालिका भित्रका एकदेखि नौ वटा वडासम्म कृषि र पशुको भूगोल अनुसार छुटाछुट्टै खेती र पशुपालनका लागि पकेट क्षेत्र घोषण गरेर काम अघि बढेको जानकारी दिए ।

त्यस्तै पालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालले पालिकाभित्रका विद्यालयको वितरण, विद्यालयको भौतिक अवस्था, शिक्षक पदपुर्तिको अवस्था, विद्यार्थीको विवरण र शाखाबाट प्राप्त भएका रकम, हालसम्मको खर्चका बारेमा जानकारी गराएका थिए ।

पालिका अध्यक्ष रमेश थापामगरको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर, उप्रमुख लिला परियार, पालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्