
अस्ताए दुर्गमका धरोहर
के चुम, के नुब्री, गपका छिरिङ दोर्जे सामु सबै नतमस्तक हुन्थे ।
कारण एउटै थियो, उनको बिनम्रता, चुम र नुब्रीप्रतिको आगाध लगाव । धेरै नरम स्वभाव तथा आफ्नो क्षेत्रको विकास लागि कठोर त्याग गर्न सक्ने उनको महानतासामु अरु कठोरहरु पनि नम्र बन्थे ।
चुम र नुब्रीबासीहरु उनलाई ‘जिपोन’ भनेर सम्बोधन गर्थे । कारण थियो, उनी एक कार्यकाल जिल्ला पञ्चायतका सदस्य बने । ‘जि’को अर्थ जिल्ला, ‘पोम्बो’ भनेको ठूलो पदका जनप्रतिनिधि । ‘जि र पोम्बो मिलाएर ‘जिपोन’ बन्छ’, स्थानीय पेमा डुण्डुप लामा भन्छन् ।
कसैले उनलाई जिआङ्बा( अर्थात सानोहजूरबा) भनेर पनि सम्बोधन गर्थे ।
जिपोन अघि गाउँ पञ्चायनका अध्यक्ष पनि बनेर काम गरे । त्यता गाउँ पञ्चायतका अध्यक्ष धेरै जना बने, गाविस अध्यक्ष पनि धेरै जना बने । जिल्ला पञ्चायत सदस्य अरु पनि बने, तर उनीप्रति चुमभ्याली र नुब्रीभ्यालीका बासिन्दा अरुका तुलनामा धेरै नै सम्मान गर्छन् ।
कारण, उनी यो वा त्यो पार्टीको स्वार्थका लागि नभै आफ्नो क्षेत्रको विकासलाई स्वार्थ बनाएर धारणा राख्थे, काम गर्थे । भित्र एउटा कुरा, बाहिर अर्को कुरा उनी जान्दैनथे । योसित यो कुरा, त्योसित त्यो कुरा पनि गर्दैनथे, त्यसैले राजनीतितिर, समाजसेवातिर लाग्न चाहनेहरु चाहे जुनसुकै पार्टीको होउन्, उनको सामु आशिर्वाद थाप्न जान्थे । पूर्ण आस्थापूर्वक सल्लाह, सुझाव लिन जान्थे ।
उनको जोड ‘स्याक्या’(अहिंसा)मा हुने गथ्र्यो । अर्थात हिंसा नगर्नू, काटमार नगर्नू । ‘चुम त सय बर्षदेखि स्याक्या घोषणा भएको ठाउँ थियो, हाम्रो नुब्रीलाई पनि स्याक्या घोषणा गर्नुपर्छ भनिरहनुहुन्थ्यो’, पेमा डुण्डुप भन्छन्, ‘तल्लो भेगका शिकारीहरु हाम्रोतिर पाँशो थाप्न जान्थे, शिकार खेल्न जान्थे । उहाँकै नेतृत्वमा शिकारीहरुलाई समात्ने, कारबाही गर्ने काम धेरै भए । पछि त्यसरी शिकार खेल्ने काम अल्लि कम भयो ।’ तल्लो भेगका शिकारी र शिकारीका नाइकेहरुसित मुद्दा मामिला पनि खेप्नुप¥यो । संरक्षणका क्षेत्रमा क्रियाशील भएकैले छिरिङ दोर्जे मनास्लु संरक्षण क्षेत्र आयोजनाद्वारा गठित संरक्षण उपसमितिका संस्थापक अध्यक्ष पनि थिए ।
आफ्नो माटोप्रति आगाध प्रेम गर्ने उनी तिव्वतसितको सीमानाका बिषयमा सँधै सतर्क रहन्थे । स्थानीयको भरोसाका केन्द्र र सरकारी संयन्त्रको पनि विश्वास पात्र भएकाले उनले पञ्चायत कालमै गोरखा दक्षिणबाहु पदक र प्रजातन्त्र बहालीपछि जनसेवाश्री पदक पाउन सफल भएका थिए ।
दुर्गम क्षेत्रमा खाद्यान्न संकट हुन्छ कि भन्नेमा उनी सँधै सतर्क रहन्थे, त्यसैले राजनीतिक, सरकारी संयन्त्रलाई दुर्गमको अबस्थाबारे सजग गराइरहन्थे । उनी थिए र नुब्रीलाई ठूलो भरोसा थियो ।
धर्म र संस्कृतिमा उनको अगाध विश्वास थियो । राजनीति र समाजसेवाको क्रममा अन्यत्र भएका बेलालाई छाडेर, गाउँ भएका बेला दैनिक तीन, चारफेरसम्म माने घुम्थे । महिना–महिनामा नियमित रुपमा गुम्बा पूजा गर्थे ।
८८ बर्षको उमेरमा अचानक उनलाई क्यान्सरले आक्रमण ग¥यो । ज्यानमारा क्यान्सरसितको एकबर्ष लामो लडाइँमा असफल भएपछि केही दिनअघि नुब्री क्षेत्रका एक होनाहार समाजसेवीको देहावशान भयो । उत्तरी गोरखाको दुर्गम क्षेत्रले एक अभिभावक गुमायो ।
चुमनुब्री गाउँपालिका ४ छाक गाउँमा जन्मेका उनी राजनीति र समाजेवाको दौरानमा जहाँतहाँ पुगेपनि अन्ततः छाक गाउँमै प्राणान्त गरे । अहिले उनकै स्मरणमा गाउँमा गुम्बापूजा चलिरहेको उनका छोरा निमा लामा बताउँछन् ।




