| बुधबार, कार्तिक २५, २०८३

शहिदलखनमा सामुदायिक वन व्यवस्थापन सम्बन्धी छलफल

शहिदलखन गाउँपालिकामा सामुदायिक वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई सामुदायिक वन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले वर्तमान कानुनमा रहेको प्रावधानहरु, नियमन, कार्यविधि, मापदण्ड, वन्यजन्तु सुरक्षा सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराइएको गाउँपालिकाका सामुदायिक वनका फोकल पर्सन मेघनाथ यादवले बताए ।

वातावरण संरक्षण ऐन २०७६, नियमावली २०७७ र सामुदायिक वन गठन प्रक्रिया अन्तरगत समिति गठन, समितिको काम, कर्तव्य अधिकारका बारेमा जानकारी गराइएको उनले बताए । सामुदायिक वनका स्रोत बाँडफाँट, यसबाट समुदायले प्राप्त गर्न सक्ने आर्यआर्जनका तरिकाहरु तथा जोखिमयुक्त रुखहरुका व्यवस्थापन कसरी गर्ने, वन डँढेलो नियन्त्रण कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको उनले बताए ।

वातावरण तथा विपद व्यवस्थापन समितिका सल्लाहाकार डा. एक बहादुर रानाले जलवायु परिवर्तन यसका असर, चुनौती, सम्भावना लगायतका विषयमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराएका थिए ।

जिल्ला वन कार्यालय गोरखाका सहायक वन अधिकृत बालकुमार नेपालीले सामुदायिक वनको नियम कानुनका बारेमा जानकारी दिएका थिए । सहिदलखन गाउँपालिकामा हालसम्म ५३ वटा सामुदायिक वन दर्ता भएका छन् । सामुदायिक वनलाई व्यवस्थित तवरले संचालन गर्न पालिकाले पनि वन ऐन २०७७ जारी गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले पालिकाभित्रका सामुदायिक वनको अवस्था, सम्भवना, सामुदायिक वनलाई व्यवस्थित गर्न आगामी योजनाहरु लगायतका विषयहरुमा जानकारी दिएका थिए । सामुदायिक वनबाट उपभोक्ताहरुलाई आयआर्जन पनि हुने हुँदा यसलाई सदुपयोग गर्ने बारेमा कार्यक्रममा जोड दिइएको थियो । साथै पालिका भित्र वृक्षरोपण कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्