
रित्तो फुण्डाँडामा धमाधम सडक स्तरोन्नति
बसाइँ सराइले हालसालै रित्तो बनेको सहिद लखन गाउँपालिका ६ फुन्डाँडामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा पूर्वाधार कार्यालय गोरखाले एकसातादेखि धमधम सडक स्तरोन्नति गरिरहेको हो ।
दार्चेको पौडेलचोकदेखि फुण्डाँडासम्मको पाँचसय मिटर सडक स्तरोन्नतिको काम धमाधम भइरहेको स्थानीय विष्णु न्यौपानेले जानकारी दिए । ‘नेताहरु भोट माग्न आउँदा यो रोड देखाएर बजेट माग गरेका थियौँ । प्रदेशबाट १० लाख रुपैयाँ परेको रहेछ’, उनले भने, ‘अब अहिले सबै बसाइँ सरेर बस्ती रित्तो बन्यो ।
त्यही बजेटबाट एकहप्तादेखि काम धमाधम भइरहेको छ ।’ यसअघि सो खण्डमा स्थानीयबासीले घरधुरीबाट पैसा उठाएर, भजन समूहबाट तथा वन समूहबाट केही पैसा जुटाएर ट्रयाक खन्ने काम भएको उनले बताए । सोही ठाउँमा प्रदेश सरकारको बजेटबाट अहिले सडक स्तरोन्नति भइरहेको हो । गाउँमा विकासका पूर्वाधार बनिरहे पनि स्थानीयबासी ‘मति बिग्रिएर’ गाउँ रित्याएर बसाइँ सरेको भन्दै उनले आक्रोश पोखे ।
१० लाख रुपैयाँले पाँचसय मिटर सडकको चौडा बढाउने, नाला खन्ने, ग्राभेल गर्ने, ग्याभिन भर्ने, मेसिनरी वाल लगाउने कार्यक्रम रहेको कृतिका निर्माण सेवाका कृष्णप्रसाद अम्गाईले जानकारी दिए । ‘दार्चेको पौडेलचोकदेखि फुण्डाँडासम्मको पाँचसय मिटर खण्डमा १७०० घनमिटर माटो कटिङ, १७० घनमिटर पहरा कटिङ, १३५ घनमिटर ग्याभिन भर्ने काम हुँदैछ’, अम्गाईँले भने, ‘काम सुरु गरेको सात दिन भइसक्यो ।
अब दुईतीन दिनभित्र सबै काम सम्पन्न हुन्छ ।’
बस्तीमा मान्छे छँदै मागेको बजेटबाट ठेक्का गरिएको र काम सुरु गरिएको पूर्वाधार कार्यालय गोरखाका सूचना अधिकारी अजय श्रेष्ठले बताए । ‘त्यहाँ बसोबास छँदै बजेट माग भएको होला । बजेट परेर ठेक्का प्रक्रियामा गइसकेपछि बस्ती रित्तिएकाले यस्तो भएको हुनसक्छ’, श्रेष्ठले भने ।
१२ घरधुरी रहेको फुण्डाँडाबाट सबै जना बसाइँ सरेपछि दुई हप्तादेखि गाउँ रित्तिएको छ ।




