| बुधबार, कार्तिक २५, २०८३

आफ्नै प्राकृतिक रङमा त्रिशुली नदी


शिव उप्रेती :

बिगत बर्षहरुमा हिउँदमा पनि बर्खाकै रङमा बग्ने त्रिशुली नदी अहिले आफ्नै प्राकृतिक रङमा बगेको छ । किनारभरि क्रसर मेसिन र बालुवा धुने मेसिन(फिरफिरे)ले प्रदुषित त्रिशुली यसबर्ष भने स्वच्छ, सफा, स्निग्ध र कञ्चन रङमा बगेको हो ।
यसबर्ष बिगतका बर्षमा झैँ अत्याधिक नदी दोहनका नभएका कारण त्रिशुली प्राकृतिक रङमा बगेको नदी आसपासका बासिन्दाको अनुमान छ ।


त्रिशुली अत्याधिक प्रदुषित भएपछि चिन्तित भएका स्थानीयबासीले त्रिशुली नदी बचाउ महाअभियानसमेत सञ्चालन गरेका थिए । अभियान अन्तर्गत जनचेतना तथा जागरण अभियानसमेत सञ्चालन गरेका थिए ।


तर विज्ञले भने अरु कारणलाई गौण मान्दै हिउँ पग्लिने क्रम सुरु नभएकाले त्रिशुली कञ्चन भएको तर्क गरेका छन् । ‘फिजिकल, केमिकल, बायोलोजिकल परीक्षण नगरी नदीमा के कस्तो परिवर्तन आयो र के कारण परिवर्तन आयो भन्न मिल्दैन’, जलस्रोतका विज्ञ इञ्जिनियर हरि देवकोटा भन्छन्, ‘तैपनि अहिले हिउँ पग्लने क्रम सुरु नभएका कारण नै सफा देखिएको हो । नदी दोहन, क्रसर, फिरफिरेका कारण प्रदुषित नभएको भन्नेचाहिँ गौण कारण हुन् ।’ नदी दोहन, क्रसर र फिरफिरेका कारण नदी छोटो दुरीमा मात्र फोहर देखिने उनको तर्क छ ।


अहिले गृहमन्त्रालयले त्रिुशली किनारलगायत देशभरका क्रसर उद्योग बन्द गरेको छ । जसले गर्दा क्रसरबाट निस्केको फोहर पानी त्रिशुलीमा मिसिन पाएको छैन । साथै नदीजन्य सामग्री उत्खनन पनि भएका छैनन् । त्यसैले नदी स्वच्छ भएको पृथ्वीराजमार्ग अन्तर्गत मजिमटारका सहदेव त्रिपाठीको भनाइ छ ।


धादिङ, चितवन, गोरखा हुँदै बग्ने त्रिशुली नदी स्वच्छ र प्रकृतिक रंगमा बगेको देख्दा स्थानीयबासी पनि खुशी भएका उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्