
बाटोबाटै फेरिए गोरखाका सिडिओ : गृहमन्त्रालयले आफैँले ल्याएको कार्यविधि पालना गरेन
गृहमन्त्रालय आफैँले निर्माण गरेको कार्यविधि अनुसार माघ ६ गते गोरखा सहित बिभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा ग¥यो । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलबस्तु सरुवा गरेर यहाँ सिराहामा रहेका लालबाबु कवारीलाई प्रमुख जिल्ला अधिकारी तोकियो ।
सरुवा भएका प्रजिअ आचार्य कपिलबस्तु पुगेर बिहिवारदेखि काम थालिसके भने गोरखा तोकिएको प्रजिअलाई गृह मन्त्रालयले बुधवार अर्को पत्र पठाएर गोरखा नजान भन्यो ।
‘गोरखा जान तयार थिएँ, रमना लिएर हिँड्ने तयारी गरेकै बेला अर्को पत्र आयो, मन्त्रालयमा हाँजिर हुन भनिएको छ’ गोरखा तोकिएर मन्त्रालय तानिएका लालबाबु कवारीले भने ‘के कति करणले गोरखा भएन त्यो त मलाई थाहा भएन, मन्त्रालयले तोकेको ठाउँमा जानु कर्मचारीको कर्तब्य हो, मन्त्रालय जान्छु ।’ कवारी बिहिवारपनि जिल्ला प्रशासन कार्यालय सिराहमा छन् ।
कसैको दवाब प्रभावमा नपरी योग्यता र क्षमताको आधारमा प्रमुख जिल्ला अधिकारी सरुवा गर्न कार्यविधि ल्याएको बताएका गृह एवं उपप्रधानमन्त्री रबि लामिछानेले एक साता नबित्दै आफैँले कार्यविधि लत्याए ।
गृहमन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले माघ ६ गते गोरखा सरुवा गरिएको प्रजिअ लालबाबु कवारीको सरुवा रोकिएको बताए । ‘गोरखा को पठाउने भन्ने यसअघिको निर्णय फेरिएको हो, लालबाबु कवारीलाई गृहमन्त्रालय सरुवा गरिएको छ, गोरखामा छिट्टै प्रमुख जिल्ला अधिकारी तोकिनेछ ।’ मन्त्रालयले चारदिन नबित्दै निर्णय बदल्नुपर्ने कारण बारे उनले मन्त्रालयले निर्णय भएको बताए ।
गृहमन्त्री लामिछानेले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने संम्बन्धी कार्यविधी, २०७९ जारी गरेका थिए । कार्यविधी जारी गर्दै उनले दबावमा कसैको सरुवा नहुने, नियमसंगत हुने बताएका थिए । तर गोरखामा सरुवा भएका प्रजिअ राजनीतिक दबावकै कारण चार दिनमा फेरिएको चर्चा जिल्लामा छ ।
कार्यविधीमा उल्लेख भए अनुसार गोरखा ‘ख’ श्रेणीको जिल्लामा पर्छ । सिराहालाई पनि ‘ख’ श्रेणीमा राखिएको छ । गोरखा आउन लागेका र यसअघि रहेका दुबै एकै तहका हुन् ।
सरल, सहज र पारदर्शी रुपमा खटाउन भन्दै जारी भएको कार्यविधी बिपरित गोरखा सरुवा भएका प्रजिअ नआउँदै फेरिएपछि गोरखा प्रजिअ बिहिन छ । गोरखामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको पर्वत सरुवा भएपछि यहाँ सहायक प्रजिअ पुष्कर राना आउने भएका छन् तर आईसकेका छ्रैनन् ।
सिडिओ र सहायक सिडिओ नभएपछि जिल्ला कारागार कार्यालय गोरखाका प्रमुख रहेका गणेश भट्टराई अहिले निमित्त सिडिओ भएका छन्।
‘पहिले कवारी सरलाई पठाउने भन्ने थियो। अहिले फेरि उहाँलाई पठाउने निर्णय बदर भएको भन्ने खबर आयो,’ उनले भने, ‘सहायक सिडिओ पनि पठाउनुभएको थियो। तर उहाँ पनि खै आउने कि नआउने ठेगान छैन।’
गृह आफैंले गरेको सरूवा र बदरले गोरखा सिडिओविहीन बन्न पुगेको हो। स्रोतहरूका अनुसार गोरखाको नयाँ सिडिओबारे गृहमन्त्री लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समन्वयको अभाव भएको देखिन्छ।
गोरखा प्रचण्डको निर्वाचन क्षेत्र पनि हो। यहाँ सिडिओ पठाउँदा विगतमा माओवादी र नेपाली कांग्रेसबीच टकरावकै स्थितिसमेत देखा पर्ने गरेको थियो।
जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रचण्डको स्वागतमा सिडिओ नगएकोमा प्रचण्डले तत्कालीन सिडिओलाई ४३ दिनमै सरूवा गरिदिएका थिए।
‘गृह मन्त्रालयले यसपालि सिडिओहरू सरूवा गर्दा प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा कसलाई पठाउने प्रचण्ड वा माओवादीका नेताहरूसँग समन्वय गरिएन । विधि र पद्धति भनियो । यसले गर्दा गृह मन्त्रालयले सरूवा गरेका कवारी गोरखामा हाजिर हुनै नपाई गृहमै तानिएका छन्,’ स्रोतले भन्यो।
यो विषयमा मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले कुरा पनि उठाएका थिए। संसदको रोष्टमबाट उनले भनेका थिए– राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ । तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस् । राज्यका सबै मान्छे हाम्रा मान्छे हुन् । तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ । गृह मन्त्रालयले केही समयअगाडि मात्रै सिडिओहरूको सरूवासम्बन्धी कार्यविधि जारी गरेको थियो ।
उक्त कार्यविधिमा जिल्लाको शान्ति सुरक्षा बिग्रिएमा, लामो समय सिडिओ कार्यालयमा अनुपस्थित रहेमा, स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएमा, विभागीय कारबाही सिफारिसमा परेमा, आचारण तथा अनुशासनसम्बन्धी प्रश्न उठेमा सरूवा गर्न सक्ने उल्लेख छ । उक्त कार्यविधिअनुसार भएको पहिलो सरूवा नै गृहले आफैं बदर गरिदिएको छ ।




