| बुधबार, कार्तिक २५, २०८३

पालुङटार नगरपालिकाको १२ औँ नगरसभा : ६ वटा ऐन पारित

गोरखाको पालुङटार नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । मंगलवार र बुधवार दुईदिन गरी नगरसभा सम्पन्न भएको हो । मंगलवार नगरपालिकाको विषयगत शाखाले अर्धवार्षिक रुपमा संचालन गरेका कार्यक्रम, गतिविधिको बारेमा समीक्षा गरिएको र बुधवार नगरसभा गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।

बुधवारको नगरसभाले पालुङटार नगरपालिकाको छ वटा विधेयक तथा नियमावली नयाँ निर्माण सहित पारित गरेको छ भने चारवटा विधेयक तथा नियमावली संशोधन सहित पारित गरेको छ । सार्वजनिक खरिद नियमावली, फोहोरमैला ब्यवस्थापन नियमावली निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । यो हिउँदे सभामा नगरपालिकाले नीति निर्माणमा प्राथमिकता दिने सभा भएकाले पालुङटार नगरपालिकाले सोही अनुसार कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

पालुङटार नगरपालिकाको बजार ब्यवस्थापन गर्न बनेको विधेयक, सार्वजनिक निजी साझेदारी ब्यवस्था गर्न बनेको बिधेयक, कर तथा गैरकर राजस्व उठाउने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र सुशासन ब्यवस्था गर्न बनेको विधेयक नगरसभामा प्रस्तुत भएको छ । यी नयाँ निर्माण भएका नियमावली र विधेयक हुन् । नगरपालिकाको कार्यसम्पादन सहज बनाउन भन्दै नगरपालिकाले नियमावली र विधेयक निर्माण गरेको नगरप्रमुख विवश चिन्तनले बताए ।

यस्तै न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन, मेलमिलाप केन्द्र कार्यसञ्चालन ऐन, आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयक पहिलो संशोधन पनि नगरसभाबाट पारित भएको छ ।
न्यायिक समिति, सार्वजनिक लेखा समिति, अनुगमन समिति, राजस्व परामर्श समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

नगरप्रमुख विवश चिन्तको अध्यक्षतामा भएको १२ औँ नगरसभामा उपमेयर बन्दना पाण्डे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्