
भिमसेनथापा गापामा एकै व्यक्तिद्वारा सातरोपनी क्षेत्रफलमा आलुखेती
भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका किसान विजयराज सापकोटाले करिब सात रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । उनले एरिका कृषि पशुपन्छी तथा माछा फर्मको नाममा ठूलो क्षेत्रफलमा आलु खेती गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नमूना आलु प्रदर्शनी कार्यक्रम अन्तरगत प्राप्त आलुको वीउ र मलको प्रयोग गरी आलु खेती सुरु गरेको कृषक सापकोटाले बताए । उनले गत मंसिर १४ गते एएनएम सात, एसटीएम ३० र एफआरवाई एस जातको आलु रोपेका थिए ।
आलुखेतीमा उननो लगानी १५ हजार रुपैयाँ मात्र भएकोछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाबाट यसवर्ष उनले ५० केजीको छ बोरा मल, तीन बोरा आलु र आलु डढुवा औषधी सय ग्रामको दश पाकेट अनुदानको रुपमा प्राप्त गरेको उनले बताए । आलुको वीउ र मल अनुदानमा पाएकाले आफैले खर्च गरेर किन्न भने नपरेको उनले बताए ।
आलुखेतीमा बाँदरले धेरै दुख दिने गरेको उनले बताए । बाँदरले आलुको बोट नै उखेलेर नष्ट गर्ने गरेको र त्यसका लागि एकजना कुरुवा र एउटा कुकुर राखेका छन् । बाँदरका कारण आलु नै रहदैन कि भन्ने आशंका लागेको छ । करिब तीन महिनामा आलु फल्ने बताउदै फागुनको अन्तिम साता आलु खन्ने बेला हुनेछ । तर यो वर्ष आलु त्यति राम्रो भएको छैन । आलु राम्रोसँग फलेमा करिब १८ क्विण्टल उत्पादन हुने अनुमान गरिएकोछ ।
ती उत्पादित आलु कहाँ बेच्ने भनेर उनी आफै अन्यौलमा छन् । २०७८ सालमा उनीसहित समूहका सदस्यहरुले ३५ रोपनी क्षेत्रफलमा आलु खेती गरेका थिए । त्यो बेलामा पनि समूहले सामुहिक रुपमा उत्पादन गरेको आलु बेच्न कृषि ज्ञान केन्द्र मार्फत चितवन, पोखरा लगायतका स्थानमा विक्री गर्नका लागि धाउनुपरेको थियो । उत्पादनको लागत भन्दा थोरै रकममा बेच्नुपरेको र आलु बेच्नकै लागि धेरै स्थानमा चाहानु परेको थियो ।
सरकारीले कृषि क्षेत्रमा प्रशस्त अनुदान दिने गरेको र कृषकले पनि सोहि अनुसारका उत्पादन गरेपनि बजार व्यवस्थापन ध्यान नदिएको उनको गुनासो छ । उनी आफैले व्यक्तिगत रुपमा उत्पादन गरेको आलु कहा लगेर बेच्ने आफै अन्यौल भएको बताउँछन् ।
स्थानीय तह, प्रदेश र संघ सरकारले स्थानीय कृषि उपजलाई बजारमा विक्रीवितरणका लागि समन्वय गरिदिनुपर्ने उनले बताए । साथै सरकारले दिएका अनुदान कतिको सदुपयोग भयो कि भएन भनेर प्रभावकारी रुपमा अनुगमन हुनुपर्ने उनले बताए ।




