
सरकारी खर्च व्यर्थ : भूकम्प पीडितका लागि लामावेशीमा बनेका घरहरु प्रयोगबिहिन

धार्चे २ केरौंजावेशीकी कमिशा गुरुङ अहिले पुरानै थलोमा टहरो बनाएर बस्छिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामावेशीमा पुनस्थापित गरेपनि उनको परिबार बिगत सातबर्षदेखि पुरानै थलोमा जस्ताले बारेको टहरोमा बस्दै आएको छ ।
हुँदाखाँदाको घर २०७२ सालको भूकम्पले माटोमा मिलाइदियो, अनि त्यही साल बर्खाको बाढि पहिरोले बगाएर बूढीगण्डकीमा मिसाइदियो ।
चल्ली भएपछि उनको परिबारलाई सरकारले लामावेशीमा घडेरीसहित घर बनाउने खर्च तीनलाख रुपैयाँ दिएको थियो । सरकारले दिएको तीन लाखमा आफ्नो छ लाख थपेर उनले पक्की घर बनाएकी थिइन् । तर घर बनाएदेखि उनको परिबार त्यहाँ बस्न गएन ।
‘घर भत्किएको मात्रै कहाँ हो र ? पूर्व हेरे पनि पहिरो, पश्चिम हेरे पनि पहिरो, तल हेरे पनि त्यस्तै, माथि हेरे पनि उस्तै थियो । यहाँ बस्ने अबस्थै थिएन’, उनी भन्छिन्, ‘त्यसपछि सरकारले लामावेशीमा जग्गा किनेर हामीलाई दियो । घर बनाउन तीन–तीनलाख रुपैयाँ पनि दियो । त्यसमा आफ्नो छलाख थपेर धमाधम घर बनायौँ । अहिलेसम्म ऋण तिरेर सकेको छैन । साउँभन्दा व्याज धेरै भएको छ ।’ तर उनी नौ लाख रुपैयाँ खर्चेर लामावेशीमा बनाएको नयाँ घरमा नबसी केरौंजावेशीकै टहरोमा बस्दै आएकी छिन् ।
कमिशालगायत केरौँजावेशी र केरौंजा गाउँका १३७ घरधुरीलाई सरकारले लामावेशीमा स्थानान्तरण गरेको थियो । लामावेशीलाई व्यवस्थित बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न आयोजनाहरु सञ्चालन गरेको छ । गोरेटोबाटो, नाली, बहुउद्देश्यीय सभाहल, विद्यालय निर्माण गरेको केन्द्रीय आयोजना कार्यन्वयन इकाइको गोरखा संपर्क कार्यालयका सञ्जय नायकले बताए । सो ठाउँका लागि सरकारले एकघर एकधारा कार्यक्रम पनि सञ्चालन गरेको छ ।
तर स्थानीयबासीले यहाँ बसोबास नगर्दा यहाँ निर्माण भएका घरहरु व्यर्थ भएका छन् । घरमा जाने तगारा बन्द छन् । कतिपय पक्की घर झाडीभित्र डुबेका छन् । आरसिसी गरेर र रङ्गरोगन गरेर निर्माण भएका सुन्दर घरको वरिपरि घाँस उम्रिएका छन् । घरका ढोकामा ताला लागेका छन् । कुनै घरमा झ्यालढोका नलगाई ह्वाङ्गै छाडिएको छ । कुनै घर बनाउँदा बनाउँदै अलपत्र पारेर छाडिएका छन् ।
१३७ घरमध्य करिब ८० घरमा मान्छे बसेका अरु घरमा मान्छे नबसेका पूर्व वडाअध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ ।
आफू जन्मे हुर्केको थलो छाड्ने मन नभएर गाउँलेहरु जोखिम मलेर पनि पुरानै घरमा बसिरहेको हालका वडाअध्यक्ष सरोज गुरुङ बताउँछन् । ‘केरौंजा गाउँबाट पनि त्यहाँ गएका छैनन्, केरौंजावेशीबाट पनि गएका छैनन्’, उनले भने, ‘आफू जहाँ जन्मे, हुर्केको हो त्यहीँ मर्ने भन्ने भावना गाउँको मान्छेमा हुन्छ । खेतीपाती, घाँस दाउरा सबै पुरानै ठाउँमा हुन्छ । नयाँ ठाउँमा त्यस्तो सुविधा हुदैन । त्यसैले उनीहरुले सरकारले राखेको ठाउँमा जान नचाहेका हुन् ।’
घरमात्रै भएर जीवन नचल्ने भएकाले नयाँ बस्तीमा जान नसकिएको कमिशा गुरुङ बताउँछिन् । ‘उताचाहिँ केही छैन, घरमात्रै हो’, उनी भन्छिन्, ‘यहाँ घाँस खोजे नि, दाउरा खोजे नि, जे खोजे नि पाउँछ, उता त पाउँदैन । सागसब्जी रोप्ने बारी नि छैन । घर मात्रै हो । अरु केही छैन ।’
मान्छेसंग उसको धर्म, संस्कार, संस्कृति पनि हुन्छ । पुनस्थापित हुँदा मान्छे मात्र सरेर नहुने अर्का स्थानीय दुङ्रक्ष गुरुङको भनाइ छ । ‘बसिरहेको पुरानो ठाउँमा आफन्त, इष्टमित्र, छरछिमेकहरु नाता, सम्बन्धको जरो गाडिएको हुन्छ । मानिआएको रीतिथिति, सिमेभूमेको पूजाआजा, धर्मकर्म सबै पुरानो ठाउँमा हुन्छन्’, उनी भन्छन्, ‘सबै कुरा चटक्क छाडेर नयाँ ठाउँमा सिर्जना गर्न गाह्रो हुन्छ । त्यसैले मान्छेहरुले पुरानो ठाउँ जति जोखिम भए पनि छाड्न नसकेका हुन् ।’
लामावेशी जस्तै धार्चे ४ लाप्राकका पाँचसय भन्दा धेरै घर पनि व्यर्थ भएका छन् । पहिरोको जोखिममा रहेका लाप्राकका बासिन्दालाई गुप्सीपाखामा पुनस्थापित गराउन एनआरएनए र एनआरएले ६०२ घर निर्माण गरेको थियो । तर ७० वटा घर मात्र प्रयोगमा रहेको, अन्य घर प्रयोगबिहिन भएको केन्द्र्रीय आयोजना कार्यान्वयन इकाइ, संपर्क कार्यालय गोरखाले जनाएको छ । जोखिममा रहेकालाई पुनस्थापित गराउन भौतिक संरचना बनाउने जिम्मा भए पनि उनीहरुलाई त्यहीँ आएर बस्न बाध्य पार्ने अधिकार आफूहरुसँग नभएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पोखराका वीरबल सुनारको भनाइ छ ।




