
ठेकेदारका कारण अलपत्र राधाकृष्ण–पौवाटार–मझुवा सडक
गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार(मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन ।
२०७६ साल असार १६ गते सम्झौता गरेको अमर कन्ट्रक्शन प्रालिले तेस्रो पटक म्याद थप गर्दा अहिले ४८ प्रतिशत मात्रै काम गरेको छ । २३ करोड ३८ लाखमा ९ दशमलव ९४ किलोमिटर सडक कालोपत्रे गर्ने कामको जिम्मा कम्पनीले लिएको थियो ।
‘यो सडकमा पनि काम ढिलो भएको छ, हामीले पटक–पटक काम छिटो गर्न भनेका छौँ’ पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने । निर्माण ब्यवशायीले समयमै काम नगर्दा तेस्रो पटक म्याद थप भएको छ । तेस्रो पटक थप भएको म्याद आउँदो चैत ३० गते सम्म रहेको छ ।
काम सम्पन्न नहुँदा उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् । सडक कालोपत्रे होला र सहज होला भन्ने आशा गरेका स्थानीय निर्माण ब्यवशायी सुस्त कामले आयोजना नै अलपत्र पर्छ कि भन्ने चिन्तामा छन् ।
पालुङटार ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले पटक(पटक काम छिटो गर्न भनेपनि बेवास्ता गरेको बताए । ‘दुई चारदिन केही मजदुरले काम गरेझैँ गर्छन, फेरि छोड्छन्’, उनले भने, ‘माथि मिलेमतोमा म्याद थप भइरहँदो रहेछ, छिटो काम नै गर्दैनन् ।’ वडा नम्बर ७ को कुमालटारीदेखि अबण्डा सम्मको क्षेत्रमा काम नै हुन नसकेको उनले बताए । ‘सर्वसाधारणले वडामा पनि गुनासो गर्छन्, भेटेका बेला पनि बाटो किन पिच भएन भन्छन्, तर हामीसित उत्तर नै हुदैन’, वडा अध्यक्ष कुमालले भने ।
निर्माण ‘होलिडेज’ भन्दै गतवर्ष काम रोकेका ब्यवशायीले यसैलाई आधार बनाएर म्याद थप गराएका छन् । सरकारले सबै आयोजनालाई एकवर्ष म्यादथप गरिदिएपछि कार्यालयले कारवाही गर्न सकेको छैन । काम अलपत्र पारेकाहरुलाई पनि एक वर्ष म्याद थप गरिएको छ ।
‘कोरोनाका कारण मजदुर अभाव, निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काम पूरा हुन सकेन’, अमर कन्टूक्सनका इन्जिनियर सुशील आचार्यले भने । अब काम पहिले भन्दा छिटो उनले उनको दावी छ । निर्धारित समयभित्र सिध्याउने गरी काम हुने उनले बताए । तर अहिले भएको कामको गतिले समयमै सिध्याउनेमा स्थानीयको आशंका छ ।




