
गोरखामा पृथ्वीनारायण शाहको शालिक अनावरण : राष्ट्रनिर्माता सलामी सुरु
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखामा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रम शुभारम्भ गरेको छ । ऐतिहासिक ठूलोआँगनमा नवनिर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण र झण्डोत्तोलन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रनिर्माता सलामीको शुभारम्भ गरेका हुन् ।
‘पृथ्वीनारायण शाहका कारण ‘मेरो देश’, ‘हाम्रो देश’ भन्न पाएका छौँ’, उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति शर्माले भने, ‘उहाँको दिब्योपदेश अहिलेको हाम्रो बैदेशिक नीति, सामाजिक आर्थिक मार्गदर्शन बनेको छ’, उनले भने ।
पृथ्वीनारायण शाहले नेपाली सेना र जनता बीचको गहिरो सम्बन्धलाई समाजमा स्थापित गरेको उनले बताए । पहिलेको गोरखा राज्य नै अहिलेको गोरखा जिल्ला भएकाले यो इतिहासले गोरखाबासीलाई थप गौरवान्वित बनाएको उनले बताए । नेपालका प्राचिन तथा प्रख्यात धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलले गोरखा जिल्ला तथा नगरलाई शोभायमान बनाएको बताउँदै प्रधानसेनापति शर्माले भने, ‘यहाँहरुले यसको महत्वलाई बुझेर फाईदा लिन सक्नुपर्नेछ ।’
नेपाली जनताको हक हितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व भएको बताउँदै सेनापती शर्माले यसको अलावा नोपलको ऐतिहासिक धरोहरका रुपमा रहेका बिभिन्न गढी, दरवारहरुको संरक्षणमा पनि काम गर्दै आएको बताए ।
शालिक अनावरण कार्यक्रममा बिभिन्न ठाउँमा जातीय भेषभुषामा सजिएर बाजागाजासहित सर्वसाधारण ठूलोआँगनमा भेला भएका थिए ।
सेनाले हरेक दिन सूर्योदय र सूर्यास्तमा ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रनिर्माता सलामी दिनेछ । सलामी दिन गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक राखिएको छ । सँगै नेपालको झण्डासहितको मोनोग्राम निर्माण गरेको छ ।
‘अब हरेक दिन सुर्योदय र सुर्यास्तसँगै झण्डोत्तोलन तथा बिगुलद्वारा विजयध्वनि सहित सलामी दिइनेछ’, गोरखास्थित रिपुमर्दन गणका गणपति हेम बिष्टले भने । त्यस्तै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले नेपालको इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जीवन्त राख्न र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सदैव उचित सम्मान दिने उद्देश्यले नेपाली सेनाको प्रस्तावमा गोरखा नगरपालिकाले यो कार्यक्रम संचालन गरेको बताए । हरेक बिहान र साँझमा हुने राष्ट्रनिर्माता सलामी अवलोकन गर्न पर्यटकहरु बास बसेर हेर्न आउने उनले बताए । ‘यसले गोरखाको पर्यटन क्षेत्रको बिकास पनि हुनेछ’ उनले भने ।
नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन)ले सलामी अर्पण तथा परेड खेल्नेछ । सेनाको पोखराथोक ब्यारेकबाट ठुलो आँगनमासम्म परेड संचालन हुन्छ ।
सो समारोहलाई मध्यनजर गरी अन्य दिनभन्दा गोरखाबजारलाई निकै झकिझकाउ बनाइएको थियो । ध्वजापताका, पोस्टर, फोटो प्रदर्शनी, स्टल निर्माण गरेर नगर सजाइएको थियो । गोरखा बजारक्षेत्रको बसपार्कदेखि ठुलो आँगनसम्म सडक दायाँबायाँ सजिसजाउ गरिएको थियो । पृथ्वीनारायण शाहकालिन तस्विरहरु, नेपालको नक्सा, झण्डाहरु सडक दायँबायाँ मनै लोभ्याउने गरी सेनाले सजावट गरेको छ ।
त्यहाँ फोटो खिच्नेहरुको लर्को लागेको थियो । पृथ्वी जयन्ती समारोह अवलोकन गर्न सदरमुकाम बाहिरका बिभिन्न ठाउँका सर्वसाधारण पनि आएका थिए । बुधवारबाट गोरखामा महोत्सवपनि सुरु भएकाले सर्वसाधारणको चहलपहल ठुलो संख्यामा थियो । पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिकाले बिगतमा बिदा दिँदै आएको थियो । यसवर्ष सरकारले नै सार्वजनिक बिदा घोषणा गरेकाले पनि सर्वसाधारणको उपस्थिति बढेको थियो ।
गोरखा संग्रहालय सँगै ठुलो आगनमा बनेको शालिकले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्नेमा स्थानीय आशाबादी छन् ।




