| बुधबार, कार्तिक २५, २०८३

गोरखाको गौरवसंग जोडिएका पृथ्वीनारायण शाह

यदु अधिकारी

नेपाल आमाले जन्म दिएकी दानवीर, शुरवीर र विद्वतवीरहरुमध्ये शुरवीर पृथ्वीनारायण शाह एक प्रमुख पात्र हुन् । १७७९ साल पौष २७ गते गोरखा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहलाई जेठी आमा चन्द्रप्रभाले पालनपोषण गरी अर्ती उपदेश दिइन् । ६ वर्षको उमेरमा गोरखनाथबाट आर्शीर्वाद पाएका पृथ्वीनारायण शाह ९ वर्षमा चण्डी पढ्न सक्ने भए भने ११ वर्षमा मैदीमा उनको व्रतबन्ध्र भयो ।

हर्षा मिश्रले गायत्री मन्त्र, भानु अर्यालले दीक्षा मन्त्र सुनाए भने कुलानन्द ढकालले ज्योतिषको ज्ञान दिलाए । १३ वर्षमा पहिलो विवाह भए पनि त्यति सुखद् भएन । दोश्रो विवाह वनारसकी अभिमानसिंहकी छोरी नरेन्द्र लक्ष्मीसँग भयो । १७९९ चैत्र २५ गतेमा राजगद्दीमा बसेका पृथ्वीनारायण शाहले नै नेपालको एकीकरण गरे ।

यिनका पुर्खा भारतका थिए । मुसलमानहरुबाट पराजित भई भूपाल रिणीबाट भीरकोटमा बसाई सरेका थिए । यिनका २ वटा छोराहरु थिए । भारतका सम्राटले यिनलाई खान(राजकुमार) उपाधि दिएका थिए । खान उपाधि हटाई कुलमण्डललाई शाह उपाधि भारतका हिन्दू सम्राटले दिएका हुन् । कास्कीका राजा कुलमण्डल शाहका ७ भाइ छोराहरु थिए । माइला छोरा कालु शाहलाई लमजुङ्गका १० जातिले सिकार खेल्न जाँदा बाहुन डाँडामा शेषान्त जातिले हत्या गरेका थिए ।

राजा कुलमण्डल शाहसँग लम्जुङ्गेले क्षमा मागी छुट्टै सुतेका कान्छा छोरा यशोब्रह्म शाहलाई चाँदीको जाभीमा हाली ७ जनाले दुरडाँडा नजिकैको सिन्दुरे ढुङ्गामा सिन्दुर जात्रा गरेर राजा बनाए । यशोब्रह्म शाहका नरहरि, नरपति, द्रव्य गरी ३ भाइ छोरा थिए । कान्छा छोरा द्रव्य शाह १६१५ विजया दशमीको दिनमा लिगलिगकोट विजय गरी राजा भए । त्यसपछि उनका उत्तराधिकारीहरुले गोरखा राज्यको विस्तार गरे ।

छत्रशाह निःसन्तान भएपछि रामशाह राजगद्दीमा बसे । सल्यानमा गएर बसेकी आमालाई गोरखामा ल्याए । यिनले बारपाक, केरुङ भोटको कुकुरघाटसम्म विजय गरे । रीतिथिति बसाले । बारपाकसँग यिनी सहित ४ राजाहरुले युद्ध गरेर विजय गरेको देखिन्छ । त्यसपछि बारपाकीहरुले बालुवामा सिर्ताे बुझाउन सुरु गरे ।

यिनका पूर्खा पूर्ण शाह, छत्र शाह, राम शाह र पृथ्वीपति शाहले युद्ध गरी विशाल गोरखा राज्य बनाएको देखिन्छ । लमजुङ्गेहरुले लिगलिगकोट लगायत च्याङलीकोट, लकाङकोट, मिरकोट र देउराली(बुढी)कोटलाई कब्जामा लिए पनि पछि पृथ्वीपति शाहका माहिला छोरा रणदुल्लभले फिर्ता गराए । ९ वर्षमा ११ पटक युद्धको क्रम चलिरह्यो । पछि १७४१ मा यो क्षेत्रलाई गोरखाले कब्जामा लिएको देखिन्छ ।

पृथ्वीपति शाहको समयमा युवराज वीरभद्र शाहको मृत्यु भयो । उनकी रानी गर्भिणी थिइन् । उनी तनहुँ माइत गएर बसेकी थिइन् । उनको बारेमा कान्छा छोरा चन्द्ररुपले बताएपछि मल्लिकावती र नरभूपाललाई गोरखामा ल्याई राजगद्दीमा बसाए । गौरेश्वर पाण्डेले न्वारन गराए । गोरखा ल्याउन सहयोग गर्ने ७ जनालाई इनाम पनि दिए ।
पुनः तनहुँ र लम्जुङ्गले गोरखाले लिएको ५ कोटलाई हमला ग¥यो । मुखियाले तिनीहरुलाई परास्त गरे । राजा नरभूपालले इनाम र दरबारमा खबर नगरेकोमा रू.१ देखि रू.५ सम्म जरिवाना पनि गरे ।

नन्दामिश्र र शिवानन्द खनालले धर्तीमा टेक्ने जेठो नै राजा हुन्छ भनेपछि पृथ्वीनारायण शाह राजा भए । बाबुको देहावसान पश्चात् यिनले पहिलो पटक विसं. १८०० मा नुवाकोट आक्रमण गरे । यिनको शासन ६ थर, ६ थोक, १२ घर, ७ काजी, २७ खुँडा, ७ धुरेको सल्लाहमा चलेको थियो । बिसे नगर्चीको सल्लाहले बाह्रहजार रकम जम्मा गरी यिनी बनारसमा गए । त्यहाँबाट शेख जाबर, भेका सिंह, मम्हमद ताकीको सहयोगले हतियार लिई गोरखा आई युद्ध जिते । यिनीहरुलाई यिनले अजिटनी पद दिए ।
यिनले पाल्पा आएर पाण्डे र बस्नेतको मिलाप पनि गराए ।

यिनले सेनामा एक काजी, २० सुवेदार, ११० नायक, २२०० सिपाही गरी २३२० जनाको व्यवस्था गरे । काजी अनुसारको सैनिक संगठनको व्यवस्था गरे (शर्मा, गोपी, चौबीसे राज्य) । १८०१ मा तेश्रो पटक आक्रमण गरी नुवाकोटलाई विजय गरे । १८११ मा भक्तपुर र तनहँुलाई पनि जिते । १८१२ को सिरानचोक विजयपछि १८१४, १८२१ पछि १८२२ चैत्र २ गते कीर्तिपुरलाई पनि विजय गरे । बल्खु खोलामा ६ घण्टासम्म भएको युद्धमा कालु पाण्डेको छात्तीमा काँड लाग्यो । ४०० सय गोरखाली सेना मरे । त्यसपछि वंशराज पाण्डे काजी भए भने केयरसिंह बस्नेत सेनापति भए ।

शिवरामसिंह बस्नेतलाई श्री ३ भनी उपाधि दिए पनि यो लागु भएन । १८१९ मा मकवानपुर विजयपछि गुरु गौरेश्वर पन्तले तनहुँका राजासँग मित्रता कायम गराए । लमजुङ्ग, पर्वतले गोरखाको सिरानचोकमा आक्रमण गरे । लमजुङको तालमेकोटबाट आएका सेनाहरुसँग मुगेमा भेट भएछ । उनीहरुको सल्लाह अनुसार एक थरी सेना मुगेको बाटो र अर्को थरी सेना अर्गुलको बाटो उक्लेर सिरानचोकको बिसौनी गह्रामा भेट भएछ । त्यहाँ घमासान युद्ध भई आ–आफ्नो भागमा सिरानचोकलाई दुई पाटा विभाजन गरेछन् । पृथ्वीनारायण शाहले मकवानपुरबाट फर्किआई गोरखाबाट अजिरकोट चिप्लेटी हुँदै सिरानचोकमा रणे लामाको नेतृत्वमा युद्ध गर्न सेनाहरुलाई पठाएछन् ।

सिरानचोकमा युद्ध भएपछि त्यहाँ रुद्ध शाहीकी रानीले ११ भारी चामल, ४ टिन खुदो(मह) लगी सेनालाई उत्साह बढाउने काम गरिन् । सिरानचोकको युद्धमा अमर पाण्डे, कले द्वारे खेद भए । सिरानचोकको विजय पश्चात् लमजुङका महिधर शाहीलाई बिसे नगर्चीको धोती टाँगी छिराउने काम गरेछन् । श्री शाके १६७७ मासे ४ गते १४ रोज् मा सिरानचोक सर भयो भनी सैनिक इतिहासमा लेखिएको छ । १८२२ मा कीर्तिपुरमा विजय गरेपछि उनलाई कीर्तिपुरेको नाककान काटेको आरोप पृथ्वीनारायण विरोधी अंग्रेज इतिहासकारले लगाएका छन् ।
अंग्रेजलाई पृथ्वीनारायण शाहले नेपालमा बस्न नदिएको रिसको झ्वाँकमा त्यस्तो आरोप लगाएको बुझिन्छ ।

१८२४ मा अंग्रेजसँग सिन्धुलीगढी र पौवागढीमा गोरखाली फौजको युद्ध भयो । वंश गुरुङ्ग र वीरभद्र उपाध्यायको फौजले ढुङ्गामु्ढा हानी सिस्नुघारीमा दबाए । अरिंगालको गोलामा ढुंगा हानेर किनलकको सेनालाई धपाए । पाटन भक्तपुर विजय पश्चात् अग्रेजसँग १४ हात्तीको सौगात स्वरुप ५ वर्षको १५ हजार रूपियाँ बुझाई सम्बन्ध सुमधुर बनाए ।

काठमाडौँलाई राजधानी बनाएपछि उनले ४ क्षेत्र र १२ उपक्षेत्रमा खजान्जी र कपरदार नियुक्त गरे । जीवनको अन्तिम घडीमा नुवाकोटको देवीघाटमा बसेका ५२ वर्षे पृथ्वीनारायण शाहले कवि, गुरु र पुरोहितहरुलाई सम्मान गर्दै अर्ती उपदेश दिए । उनले त्यस बेला भनेका अविस्मरणीय भनाइहरूमा “नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो”, “नेपाल दुई ढुङ्गाबीचको तरूल जस्तो रहेछ”, “दक्षिणको बादशाह महाचतुर छ”,“जाइकटक नगर्नू झिकी कटक गर्नु” आदि रहेका छन् । उनको १८३१ को दिव्योपदेशलाई गद्य महाकाव्य भने पनि फरक पर्दैन ।

त्यसैले साहित्यिक दृष्टिकोणले पनि उनी उच्च मानिन्छन् । पृथ्वीनारायण शाहले फिनामकी सान्नानी खत्रीसँग बनारसमा हतियार किन्न जाँदा महिन्द्रमल्ली पैसा ऋण लिएका थिए । युद्ध जितेपछि राजा पृथ्वीनारायण शाहले दशैंको नवमीको दिनमा बली दिएको ठूलो अन्तिम बोकाको प्रसाद सान्ननी खत्रीको परिवारलाई सिङ्गै दिन चलन बसाए । (सन्धिपत्र २०११ र कोतवाल साइलासँगको कुराकानी )

तनहुँ, लमजुङका चौबीसेले र देउरालीबाट एकमुख, धुँवाकोटबाट एकमुख च्याङ्लीबाट एकमुख, लकाङ र मिर्काेटबाट एकमुख, लिगलिगकोटबाट एकमुख गरी चारैतिरबाट गोरखामा हमला गरेका थिए । गोरखालीहरुले गोप्लिङघाटदेखि चेपेघाटसम्मका सबै लमजुङेहरुलाई धपाएका थिए । तिनीहरु गोरखादरबारमा भने आउन सकेका थिएनन् । विजयपछि नरभूपाल शाहले त्यहाँका मुखियालाई बोलाएर पगरी दिए । लमजुङे र अरु चौबीसेलाई दरबारमा खबरै नगरी लखेटेपनि रु.१ देखि रु.५ सम्म अब्बल, दोयम, सिम, चाहारका आधारमा दण्ड गरी दरबारप्रति जनतालाई उत्तरदायी बनाएका थिए ।

यो कुरा १७८७ पौषतिरको हुनुपर्दछ । त्यसपछि रामकृष्ण कुँवर, रामकृष्ण थापा, जयन्त राना नुवाकोट आक्रमण गर्न गए । रामकृष्ण थापा र जयन्त रानाले पराजय भोगे । कटुन्जेमा गोरखालीहरु पराजित भएर आए । पछि भने विजय गरेर त्रिशुली तरे र त्रिशुलीको साँघु पोलेर फर्किएका थिए ।

त्यसपछि जयन्त राना जयप्रकाश मल्लको सेनामा भर्ना हुन गएका थिए ।
१८०१ असोज १५ मा जयन्त रानाका छोरा शंखमणि नुवाकोटमा मारिए । गोरखालाई धोका दिएकोमा जयन्त रानालाई छाला काडेर मार्न लगाए । गोरखाका राजा पृथ्वीनारायण शाहले तनहुँका राजालाई सतीघाटमा भेट्न बोलाउँदा उनी भेट्न आएनन् । राजा धुलपुर गए तर च्याङ्लीका सदाशिव कँडेलले रोकेर आफ्नै घरमा राखे । उनलाई कमलटारीको जग्गा रु. १३४ मा दिए । गौरेश्वर पन्तका छोराहरु पनि तान्त्रिक थिए ।

पृथ्वीनारायण शाहको ब्रतबन्ध धादिङको मैदीमा गरिएको थियो । दीक्षामन्त्र हर्ष मिश्रले सुनाएका थिए । काशीबाट यिनीहरुलाई झिकाइएको थियो । पृथ्वीनारायण शाहको विवाह कालु पाण्डे र भानु अर्यालले मिलाएपछि झगडा भएको थियो । पृथ्वीनारायण शाहले लिगलिगलाई बलियो बनाए । १७९६ माघ ११ गते गोरखा र लमजुङको बिचमा सम्बन्ध कायम भएको थियो । यो सम्बन्ध १८३८ सम्म कायम रहेको थियो । सो सन्धि उल्लङ्घन गरेमा गोरखाबाट रु. ४०,००० लिनू भनी कालुपाण्डेले सम्झौता गरेका थिए ।

कालुपाण्डे र वीरमर्दन शाहको बिचमा मीत लगाइएको थियो । चेपेघाटमा यो सन्धि गरिएको थियो । कालुपाण्डे वंशराज पाण्डेका छोरा हुन् । केशवद्वारे चन्द्रप्रभाका विश्वासिला थिए । दरौँदीमा पौडी खेल्न जाँदा पृथ्वीनारायण शाहले यिनको बारीको आठदश उखुको ढाँक खाएका थिए भनी चन्द्रप्रभालाई सुनाए । पछि चन्द्रप्रभाले युवराज र राजाहरुले यस्तो काम गर्नुहुँदैन भनेर पृथ्वीनारायणलाई सम्झाइन् । नरभूपाल शाहको पृथ्वीपछि अन्त्येष्टि बुङ्कोटघाटमा गरिएको थियो । (पन्त दिनेशराज, २०४१ पौष २७ गोरखाको इतिहास–पहिलो भाग)(पृथ्वीनारायण शाहको बारेमा विस्तृत कुराहरु गोरखाको वीरपुरुषहरु भन्ने शीर्षकमा लेखिएको छ)।

वि.सं.१८२५ मा पृथ्वीनारायण शाहले काठमाडौँलाई नेपालको राजधानी बनाए । उनको मृत्युपछि उनका छोरा प्रताप शाह राजा भए । उनको अल्पायुमा मृत्यु भएपछि उनका नाबालक छोरा रणबहादुर शाह राजा भए । रणबहादुरको नायवी बहादुर शाह र राजेन्द्रलक्ष्मी देवी शाह भएका थिए । बहादुर शाहको पालामा गोरखामा लमजुङेले आक्रमण गरेर बहादुर शाहलाई अजिरकोटमा केही समय थुनेका थिए भन्ने किंवदन्ती सुनिन्छ । बहादुर शाहको पालामा गल्कोट, पाल्पा आदि ३७ ठाउँ विजय गरिएको थियो ।

राजेन्द्रलक्ष्मीले नायवी भएर ८ वर्ष शासन चलाएकी थिइन् । उनको पालामा तनहुँ, लमजुङ, कास्की, पल्लो नुवाकोट, गरहुँ, सतहुँ, रिसिङ, घिसिङ, भिरकोट, पयुँ, ढोर एघार ठाउँ विजय गरेकी थिइन् । यिनको पालामा चौबीसे लमजुङ, तनहुँ, पर्वत आदि मिलेर बारपाकीलाई उचालेका थिए । गोरखाको सिरानचोक, अजिरकोट, सिमजुङगडी कब्जा गर्दै बारपाक जाने बालुवामा नेपाली सेना र चौबीसेको बिचमा युद्ध भएको थियो । युद्धमा नेपाली सेना १४ र चौबीसेका ७० जना (२००) ? को मृत्यु भयो भनिएको छ । यो युद्ध १८३८ पौषमा भएको थियो । भच्चेकमा गोरखालीको रने लामाले सेनाको तर्फबाट नेतृत्व गरी युद्ध लडेका थिए । काठमाडौँबाट गोरखाली सेना आई बालुवा र सिमजुङको ओडारमा युद्ध गर्दै अगाडि बढे । चिप्लेटी, झिम्रेक, सिरानचोकमा युद्ध भयो ।

अमरसिंह थापाको नेतृत्वको तीन पल्टनले चौबीसेलाई पराजित गरेको थियो । त्यसपछि चौबीसेहरु हर्मी हुँदै चेपे तरेर भागे । सिरानचोक युद्धमा भक्तिथापाले आत्मसमर्पण गरेर नेपाली सेनामा सम्मिलित भएका थिए । लमजुङका राजकुमार महीधर शाहीले आत्मसमर्पण गरेनन् । उनलाई विषे नगर्चीको धोतीमुनि (टाङमुनि) छिराएर बेइज्जत गरेर छोडियो भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्